तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको हो ।

स्थानीय समयअनुसार मङ्गलबार बिहान नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन सम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले जनाएको छ ।  सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर छ ।

यूएस जियोलोजिकल सर्भेले भने भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।

तिब्बत भूकम्प : उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपतिको निर्देशन

चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले महत्त्वपूर्ण निर्देशन दिँदै घाइतेहरुको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न माग गरेका छन्  ।साथै, उनले प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनःस्थापना गर्न पनि आग्रह गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा प्रधानमन्त्री ली छ्याङले मङ्गलबार उद्धार कार्य सञ्चालन गर्न आह्वान गरेका छन्  ।उनले भूकम्प प्रभावित क्षेत्र चिसो पठार क्षेत्रमा पर्ने भएकाले प्रभावित जनताको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र जाडोमा न्यानो रहनका लागि हरसम्भव उपाय अपनाउनुपर्ने बताए  । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य उपप्रधानमन्त्री झाङ गुओ छिङले भूकम्प गएको ठाउँमा टोलीको नेतृत्व गरेका छन्  ।

तिब्बत भूकम्प : रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा र सोलुखुम्बुमा सामान्य क्षति

मङ्गलबार बिहान गएको भूकम्पका कारण रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा र सोलुखुम्बुमा केही घरहरुमा सामान्य क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न २५ सय सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए  ।

केही जिल्लामा एक/दुई वटा कच्ची घर सामान्य चर्किएको बाहेक ठुलो भौतिक तथा मानवीय क्षति अहिलेसम्म नभएको उनले बताए  ।सह प्रवक्ता थापाका अनुसार सोलुखुम्बु, थुलुङ्ग दुधकोशी गाउँपालिका– ७ देउसा स्थत लुर्वा बस्ने हर्कबहादुर खत्रीको ढुङ्गा माटोले बनेको दुईतले घरको गारो सामान्य चर्किएको छ ।

त्यस्तै, भूकम्पका कारण ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका– २ चुहानछाप बस्ने हिमाल कार्कीको ढुङ्गा माटोले बनेको घर सामान्य चर्केको छ भने ओखलढुङ्गा, चिसंखुगढी गाउँपालिका– ५ सिरीसे बस्ने वर्ष २६ को इन्द्रबहादुर परियारको जीर्ण अवस्थामा रहेको भान्सा घर पूर्णरुपमा भत्किएको उनले जानकारी दिए ।

मङ्गलबार बिहान नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।

चीनमा भूकम्पपछि माउन्ट कोमोलाङमा क्षेत्र बन्द

चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि माउन्ट कोमोलाङमा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ ।हालसम्म भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

डिङ्ग्री संस्कृति तथा पर्यटन ब्युरोका अनुसार कोमोलाङमा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित छन् ।डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेशनको विद्युत् कटौती भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ ।रासस/सिन्ह्वा

भूकम्पको केन्द्रबिन्दु दिङ्गेबाट ९० किमी दूरीमा रहेको नेपालको लबुचेको के छ अवस्था ?

तिब्बत र नेपालको सिमानामा पर्ने मङ्गलवार बिहानै गएको शक्तिशाली भूकम्पबाट सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्र तथा जिल्ला भरी कडा  झट्का महसुस गरिएको छ । भूकम्पको केन्द्रबिन्दु दिङ्गेबाट ९० किमी दूरीमा रहेको नेपालको लबुचेमा सबैभन्दा धेरै हल्लाएको बताइको छ ।

ठुलो झट्काबाट क्षतिको अनुमान गरिए पनि हालसम्म भौतिक तथा मानवीय क्षतिको विवरण प्राप्त नभएको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए  ।उनका अनुसार , भौगोलिक विकटता र यातायात नपुगेको स्थान भएकाले पनि सबै जानकारी आएको छैन । शक्तिशाली भूकम्पपछि स्थानीयवासी त्रासमा रहेको उहाँको भनाइ छ । भूकम्पको केन्द्रबिन्दु दिङ्गे र नेपालतर्फ लबुचेको दूरी ९० किमी मात्र  छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे का अनुसार भूकम्पबाट क्षतिको जानकारी लिने काम भइरहेको भए पनि हालसम्म प्राप्त भएको छैन । सम्भावित क्षतिको विवरण सङ्कलन भइरहेको र विभिन्न ग्रामीण क्षेत्रहरूबाट विवरण आउन बाँकी रहेको छ । स्थानीय प्रहरी प्रशासनले भूकम्पपछिको अवस्था निरीक्षण गर्न टोली खटाएको छ भने सुरक्षा संयन्त्रलाई सतर्क अवस्थामा राखिएको जनाएको छ ।

बिहान ६  बजेर ५० मिनेट आसपास गएको भूकम्पबाट सोलुखुम्बु जिल्लाका विभिन्न भागमा मानिसहरू घरबाहिर निस्केर सुरक्षित स्थानतर्फ भागेका थिए। “२०७२ साल याद आउने गरी हल्लायो, सबै डराएर बाहिर भाग्यौँ,” स्थानीय वासीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *