धरानमा मानव बसोवास सुरु भएको १२४ वर्ष पुगेको अवसरमा विगत वर्षझैं आजदेखि पाँच दिने धरान उत्सव सुरु भएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवासीय समृद्ध सहर भन्ने नारासहित शनिबार धरानका विभिन्न जातीय संस्था, विभिन्न सङ्घ संस्थाहरू, विद्यालयहरूले सांस्कृतिक झाँकीसहित धरान –१६ स्थित रङ्गशालाको दक्षिणी मैदानमा उत्सव सुरु भएको हो । उत्सवको उदघाटन ज्येष्ठ नागरिक ७७ वर्षीय काजिमान गुरुङले गरेका थिए ।
उनले धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई र उपप्रमुख आइन्द्रविक्रम बेघालाई माला लगाइ स्वागत तथा धन्यवाद दिएका थिए । धरान २०१७ सालमा विधिवत् नगरपालिका घोषणा भएको थियो ।धरान संस्कार, संस्कृति, कलाको क्षेत्रमा धेरै अगाडि रहेको नगरप्रमुख राईले बताए । पछिल्लो समय धरानले गरेको श्रमसंस्कृतिको विकास सबैले सिक्न जरुरी रहेको बताए ।
धरान बहुजाती, बहुभाषी, बहुसंस्कृति रूपमा रहेकाले हरेक कार्यक्रममा विभिन्न जातजातिका झाँकीसहितको संस्कार, संस्कृतिले धरान एक साझा मालाको रूपमा रहेको उपप्रमुख आईन्द्रबिक्रम बेघाकाे भनाइ थियाे ।
धरान उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान स्थापना दिवसको रूपमा धरान उत्सवको आयोजना गर्दै आएको छ । यो वर्ष धरान स्थापना भएको १२४ औँ वर्ष पुगेको छ । धरान उत्सवमा रोटे पिङ तथा बालबालिकाका लागि मनोरञ्जनको गाडी, नाउहरू राखिएको छ । उत्सव उदघाटन समारोहमा धरानलाई उत्कृष्ट कर बुझाउने पाँच जनालाई र सामाजिक क्षेत्रमा योगदान गरेका विभिन्न सङ्घ संस्थालाई समेत सम्मान गरिएको थियो ।