नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आफूहरूको मागप्रति गम्भीरता नदेखाएको भन्दै निर्णायक आन्दोलन गर्ने तयारी गरेको छ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले निर्णायक आन्दोलनको तयारीका लागि पुस २७ गते शनिबार काठमाडौंमा राष्ट्रिय भेला बोलाइएको जनाएको हो।
भेलामा देशभरका निर्माण व्यवसायीहरूको प्रतिनिधित्व हुने र आन्दोलनको अन्तिम खाका बनाइने महासंघले जनाएको छ। निर्माण उद्योगप्रतिको सरकारले उदासीनता देखाएको भन्दै त्यसका विरुद्ध निर्णायक आन्दोलनको विकल्प नभएको महासंघका सभापति रवि सिंहले बताए।
उनले निर्माण कार्य सम्पन्न गरेबापत निर्माण व्यवसायीहरूले पाउनुपर्ने रकम तत्काल निकासा गर्नका लागि सरकारी निकायबाट प्रतिबद्धता आए पनि भुक्तानीको समस्या पूर्णरूपमा समाधान हुन नसकेको बताए।
समयमै भुक्तानी नभएका कारण चालू आर्थिक वर्षमा थप निर्माण कार्य सहजरूपमा अघि बढ्न नसक्ने देखिएको महासंघले जनाएको छ। महासंघले निर्माण उद्योगका समस्या समाधानका लागि महासंघ समेतको प्रतिनिधित्व रहने गरी तत्काल उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरेको छ।