काठमाडौँ । सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको समग्र भौतिक प्रगति ८३.७५ प्रतिशत र वित्तीय प्रगति ७६.६८ प्रतिशत पुगेको छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाका अनुसार निर्माण सुरु भएको ५ वर्ष पुरा हुँदासम्म १६.२५ प्रतिशत काम अझै बाँकी रहेको हो ।पछिल्लो समय थपिएको म्याद अनुसार अब यो सुरुङ मार्ग निर्माण ९ महिना सकिसक्नुपर्ने छ । तर, यो अवधिभित्र निर्माण पुरा हुने/नहुनेमा अन्योल कायमै छ ।
गत मंसिरको दोस्रो साता सुरुङमार्ग निर्माण क्षेत्रका स्थानीयले जग्गाको मुआब्जा माग गर्दै निर्माणमा अवरोध गरेका थिए । जसका कारण करिब दुई साता निर्माण ठप्प भएको थियो । त्यसपछि सरकारले स्थानीयको मागअनुसार सहमति गरेपछि निर्माण अघि बढेको छ । यसअघि २०८० फागुनमा पनि खानेपानीको समस्या र मुआब्जा माग गर्दै निर्माणमा बाधा सिर्जना गरेका थिए । त्यतिबेला एक महिना निर्माण कार्य हुन सकेको थिएन ।
प्रगति विवरण
सो आयोजनामा मुख्य र रेस्क्यु गरेर दुई सुरुङमार्ग (टनेल) निर्माण गरिएका छन् । धादिङको सिस्नेरीबाट सुरु भएको सुरुङमार्ग काठमाडौँ नागढुङ्गामा निस्कन्छ । मुख्य टनेलको लम्बाइ २ हजार ६८८ मिटर रहेको छ । यो २०८१ वैशाख ३ गते ब्रेकथ्रु भएको थियो । यसैगरी रेस्क्यु टनेलको लम्बाई २ हजार ५५७ मिटर छ । यो टनेल २०८० साउन २२ गते ब्रेकथ्रु गरिएको थियो । यसैगरी मुख्य टनेल र क्रस प्यासेजमा कङ्क्रिट लाइनिङ (भित्ता र सिलिङको ढलान–कंक्रिटिङ)को काम सकिएको छ । भुइँ अर्थात् सडकको लेन ढलान गर्ने काम पनि औसतमा ३०.७२ प्रतिशत सकिएको छ ।
सुरुङमार्गको लेनलाई कालोपत्र नगरी मुख्य टनेलको लेनलाई सिआरसिपी (कन्टिन्युस्ली रिइन्फोस्र्ड कङ्क्रिट पेबमेन्ट) प्रविधिबाट कङ्क्रिट गरिरहेको आयोजनाले जनाएको छ । जापानी मेसिनबाट गरिएको कङ्क्रिटमा दुई तहमा २० एमएमका स्टिल राखेर ३० सेन्टिमिटरको मोटाइमा निर्माण गरिँदैछ । जमिनमा आउने कम्पनलगायतका कारण सुरुङभित्रका जमिन चर्किने–फाट्ने जस्ता समस्या आउन नदिन यस्तो प्रविधिमार्फत सडक कङ्क्रिट गरिएको छ ।
मुख्य टेनलको २ हजार ६८८ मिटर सडक लेनमा सिआरसिपी विधिमार्फत कङ्क्रिट गरिँदैछ । अहिलेसम्म ९३५.५० मिटर सडकमा यस्तो कङ्क्रिट गरिएको छ । यस्तै, सुरुङभन्दा बाहिरको सडक लेनलाई आरसिपी (रिइन्फोस्र्ड कङ्क्रिट पेबमेन्ट) प्रविधिमार्फत कङ्क्रिट गरिँदै छ । आरसिपी प्रविधिमार्फत २ हजार ८०० मिटर सडक लेन कङ्क्रिट गरिने योजना छ । जसमध्ये ५५१.२० मिटर सडक लेन कङ्क्रिट गरिएको छ ।
सुरुङभित्र र बाहिरको सडक जोडिने ठाउँमा भने जेआरसिपी (जोइन्ट रिइन्फोसर्ड कङ्क्रिट पेबमेन्ट) प्रविधिमा कङ्क्रिट गरिँदै छ । यस प्रविधिमार्फत ९८३.८२ मिटर सडक कङ्क्रिट गरिनेछ । त्यसमध्ये ५०१.४० मिटर सडक कङ्क्रिट गरिसकिएको छ ।यस्तै सुरुङमार्ग सञ्चालन गर्न दुवैतर्फ ‘कन्ट्रोल बिल्डिङ’ पनि बन्दै छन्, त्यसको सिभिल निर्माणको काम पनि सकिएको छ । हाल त्यसको फिनिसिङ र भवनभित्र आवश्यक उपकरणहरू जोड्ने काम भइरहेको छ ।
मुख्य टनेल र क्रस प्यासेजमा कङ्क्रिट लाइनिङको काम सकिएको छ । २ हजार ६८८ मिटर लामो मुख्य टनेल, लगभग १८ मिटर लम्बाइका ७ वटा क्रस प्यासेज,मुख्य र रेस्क्यु टनेल जोड्ने सुरुङ र रेस्क्यु टनेलका केही खण्ड गरेर कुल २ हजार ८१२ मिटर खण्डमा कङ्क्रिट लाइनिङ गरिएको छ ।