काठमाडौँ — आज देश-दुनियाँमा सरकारले आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने, ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण’ गर्ने नेता भीम रावलको घोषणादेखि बझाङको विकट साइपालमा नुनको अभावसम्मका खबर चर्चामा रहे ।
आवश्यक सेवामा हडताल गर्न सरकारले निषेध गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठले आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने निर्णय गरेको हो । बुधबार सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णयमा गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय भएको हो । ‘आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
आवश्यक सेवामा हडताल निषेधको आदेश जारी गर्दै सरकार
एमालेले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको पूर्वउपाध्यक्ष भीम रावलले ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण’ गर्ने घोषणा गरेका छन् । कम्युनिस्ट, गरैकम्युनिस्ट विचार अटाउने ‘उदारवादी विचारधारा’ भएको पार्टी गठन गर्ने गृहकार्यमा लागेका रावलले बुधबार राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको पक्षमा उभिने राजनीतिक शक्ति बनाउने जनाएका छन् ।
देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने रावलको घोषणा
बझाङको विकट साइपाल गाउँपालिकामा नुनको अभाव हुन थालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै ढुवानीको व्यवस्था नगर्दा नुन अभाव देखिन थालेको हो । ‘पोहोर साल मंसिरमा किनेको नुन अहिलेसम्म चल्यो । पुस लागेपछि छिमेकीबाट ऐंचोपैंचो गरेर खाइरहेका छौं,’ जिल्लाको अन्तिम मानव बस्ती धुलीकी मोतिमा रोकायाले भनिन्, ‘हिउँ पर्न थालिसक्यो । अहिलेसम्म नुन ल्याएनन् । हिउँदभरि अलिनै खानु पर्छ जस्तो छ ।’