आज ‘तमु ल्होछार’ मनाइँदै

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् ।‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा  मनाउने गर्छन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने  गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

लोसार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन  ।

राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।”

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लामा यो पर्व धुमधामसँग मनाइने स्पष्ट पारेका छन ।

नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायको भूमिका प्रशंसनीय रहेको राष्ट्रपतिको कथन छ ।

राष्ट्रपति पौडेलले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन  ।

लोसारले बन्धुत्वको भावना मजबुत: सभापति देउवा

यसैगरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएका छन ।

तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजवुत बनाएको उनले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

तमु ल्होसारले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिकरूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन ।

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा तमु ल्होसार शुभकामना व्यक्त

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको रूपमा मनाउने ल्होसार को अवसरमा शुभकामना व्यक्त गरेका छन ।देश तथा विदेशमा रहेका तमु समुदायका साथै समस्त नेपाली आमा बुवा, दिदीबहिनी, दाजुभाइमासुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन । तमु ल्होसारले आफ्नो समुदायको परम्परागत संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासमा विशिष्ट भूमिका खेलेको छ । यस पर्वमा तमु समुदायले आफ्नो भेषभुषा, पहिचान र संस्कारसहित जमघट हुने, गोष्ठी, प्रवचनका साथै नाचगान गर्ने र विभिन्न परिकार बनाएर खाने प्रचलन छ ।

संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतालाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको उनले सन्देशमा उल्लेख गरेका छन  ।

सबै जातजाति र समुदायका नेपाली जनताबीच सामाजिक, सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन तमु ल्होसारले प्रेरणा दिने विश्वास उनले गरेका छन ।

तमुल्होसार पर्वका अवसरमा सभामुख घिमिरेद्वारा शुभकामना

सभामुख देवराज घिमिरेले तमुल्होसार पर्वले समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवद्र्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन ।

सभामुख घिमिरेले आज तमुल्होसार, २०८१ को पावन अवसरमा जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको काममा गर्दै उक्त शुभकामना व्यक्त गरेका छन ।“नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, संविधानको मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएकोबारे हामी सबै जानकार नै छौँं”–सन्देशमा भनिएको छ,

“हाम्रा पर्वहरूले नागरिकस्तरमा पनि विविधतामा एकता कायम गर्न र सामाजिक सद्भावलाई सुदृढ बनाउन सहयोग गरेका छन् ।”यो पर्व गुरुङहरूको नयाँ वर्षको आगमनलाई सङ्केत गर्ने दिनको रूपमा मनाइन्छ । गुरुङ समुदायले १२ वर्षमा १२ वटा जनावरको नामबाट ल्हो (वर्ष) चक्र निर्धारण गरेका छन् । यो नयाँ ल्होको स्वागत गर्ने पर्व हो । यस पर्वले गुरुङ समुदायको सांस्कृतिक पहिचान, एकता र परम्परालाई जीवन्त राख्न भूमिका खेलेको छ ।

सभामुख घिमिरेले तमुल्होसार पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन ।

लोसारले सांस्कृतिक महत्वलाई थप उजागर गर्छ : उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसाररल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । नेपालका आदिवासी तमु अर्थात् गुरुङ समुदायको महान पर्व तमु ल्होसार-ल्होछार र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा समुदायले मनाउने महान पर्व तोल ल्होसाररल्होछारको सुखद उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उनले सो विश्वास व्यक्त गरेका हुन ।

“तमु ल्होसार पुस १५ गतेको दिन बिहानैदेखि पूजाआजा गर्ने र देवतालाई खुशी पार्न विभिन्न प्रकारको भोग लगाउने जस्ता परम्पराले समुदायगत धार्मिक आस्था र विश्वासलाई थप प्रगाढ बनाउँदै मन, बचन र कर्ममा पवित्रता र आध्यात्मिकता बढाउनमा सघाउने विश्वास व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले भनेका छन ।

“हाम्रा चाडपर्वहरुले समुदायको भाषा, संस्कृति, पहिरन र रैथान रीतिरिवाजलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, पर्वलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्ने प्रयास गर्दै नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा थप्न जरुरी छ”, उनले भनेका छन ।

ल्होसारले राष्ट्रिय एकता मजबुत बनाउछः अध्यक्ष यादव

जनता समाजवादी पार्टी [जसपा] नेपालका अध्यक्ष उपेन्द्र यादवले तमु ल्होसाररल्होछार पर्वले राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गरेका छन । गुरुङ समुदायको महान् पर्व ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिदै यादवले पर्वले नेपालमा तमु जातिलगायत सम्पूर्ण नेपालीहरुबीच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, एकता, सद्भाव र भातृत्व अभिवृद्धि गर्दै राष्ट्रिय एकता मजबुत हुने उल्लेख गरेका छन ।

अध्यक्ष यादवले नेपालमा तमु जातिले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व राख्ने बताउदै  तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने तमु समुदायलगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा शुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *