महिला सुरक्षा दबाब समूहको ध्यानाकर्षण

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

महिला सुरक्षा दबाब समूहले युवतीहरूको सामूहिक बलात्कारको समाचारले स्तब्ध भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समूहले एक विज्ञप्ति जारी गर्दै २०८१ पुस ११ गते बिहीबारको प्रकाशित भएको दुई युवतीहरूको सामूहिक बलात्कारको समाचारले स्तब्ध भएको जनाएको हो ।मोरङको जहदा गाउँपालिका-३ खदरा बस्तीकी एक २२ वर्षीया दलित महिलालाई बिहानै शौच गर्न गएका बेलामा शौच गरी निस्किएपछि अपहरण शैलीमा उनको घर नजिकैको बाँसघारीमा मुखमा कपडा कोचिएको तथा हातखुट्टा बाँधेर सामूहिक बलात्कार गरिएको थियो । अचेत अवस्थामा भेटिएकी उनलाई गाउँलेहरूले प्रहरीलाई बोलाएर उद्धार गरेका थिए ।

प्रहरी चौकी कटहरीदेखि करिब डेढ किमीमात्र दक्षिणतर्फ रहेको बाँसघारीमा सामूहिक बलात्कार भएको थियो । बलात्कारको आरोपमा एक भारतीयसहित चार युवक पक्राउ परेकामध्ये एकजनाको नाम सार्वजनिक हुन सकेको छैन । यसैगरी नरैनापुरस्थित नेपाल भारत सिमानामा बस्ने मेलाबाट घर फर्किरहेकी १४ वर्षीया किशोरीलाई पनि दुई युवाले बलात्कार गरेको घटनाबाट परिवारका सबैजना त्रासदीमा दिन बिताइरहेको समाचारले मर्माहित बनाएको महिला सुरक्षा दबाब समूहले जनाएको छ । पछिल्लो समयमा देशभरि नै महिला तथा बालिका बलात्कारजस्ता अति निन्दनीय र आपराधिक घटनाहरू एकदमै बढेर गएको र कहीँ पनि सुरक्षाको अनुभूति हुन नसकेको समूहले विज्ञप्तिमा उल्लेख गरेको छ ।

आखिर कहिलेसम्म यसरी महिला तथा बालिकाहरूले बलात्कारको सामना गरिरहनुपर्ने ? मौका छोपी महिला तथा बालिकामाथि बलात्कार हुनु अति नै निन्दनीय हो र यसको जति भत्सना गरे पनि पुग्दैन, यस्ता घटनाहरूले मुलुकको सुरक्षाको बागडोर सम्हालेर बसेका प्रहरी प्रशासनमाथि प्रश्न उठेको छ भन्दै राज्यको प्रहरी प्रशासनले घटना घटिसकेपछि गर्ने कार्यभन्दा पनि संवेदनशील भई नागरिकहरूको सुरक्षा दिन गाउँ बस्तीमा गस्ती गरिरहनुपर्ने महिला सुरक्षा दबाब समूहले आग्रह गरेको छ ।

अब आउँदा दिनमा यस्ता घटना हुन नदिन महिला सुरक्षा दबाब समूहले गृह मन्त्रालय एवं प्रहरी प्रशासनको ध्यान आकृष्ट गराएको छ । साथै घटनाका सबै दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई उचित न्यायसहितको क्षतिपूर्ति दिलाउनका लागि समूहले जोडदार माग गरेको छ । निःशुल्क उपचार गराउन एवं पीडितहरूलाई मनोपरामर्श जस्ता आवश्यक सेवाहरू उपलब्ध गराउन तीनै तहका सरकार एवं विभिन्न संघ संस्था तथा सञ्जालहरूलाई संस्थाकी अध्यक्ष कल्याणी शाहले जारी गरेको विज्ञप्तिमा अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *