जल तथा मौसम विज्ञान विभागले भाेलि शुक्रबार अपराह्नदेखि शनिबार नेपालका धेरै भागमा मौसम बदली हुने बताएको छ । आज विभागले विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण भाेलि साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको जनाएको हो ।
साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।‘उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको छ’, विभागले सचेत गराएको छ ।