सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा टायर बालेर प्रदर्शन गर्दै सडक बन्द गरेको छ।जनमत कन्चनरूप सप्तरीका कार्यकर्ताहरूले सोमबार एक घन्टा सडक बन्द गरेर लाठीसहित प्रदर्शन गरेका हुन्।
टायर बालेर सडकमा प्रदर्शन गरेको भिडिओ सिके राउतले सामाजिक सञ्जाल फेसबुक लगायतमा सार्वजनिक पनि गरेका छन्।
जनकपुर बोल्टसका समर्थकहरूमाथि केही अराजक व्यक्ति र समूहले अपमानजनक तथा विभेदकारी व्यवहार गरेको भन्दै जनमत पार्टीले सडक बन्द गरेर प्रदर्शन गरेको हो।मधेस सरकार जनमत पार्टीको नेतृत्वमा छ।
शनिबार भएको एनपिएलको फाइनलपछि केही व्यक्तिहरूले जनकपुर बोल्टसलाई लक्ष्य गर्दै आक्रमण र अपमानजनक शब्द प्रयोग भएको भन्दै जनमतका प्रवक्ता शरदसिंह यादवले आइतबार विज्ञप्ति निकालेर उक्त घटनामा संलग्नहरूमाथि कारबाहीको माग गरेका थिए।
जनमत पार्टीले रंगभेदी क्रियाकलाप गर्नेहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउन गृह प्रशासनलाई आग्रह पनि गरेको थियो।
यसैबिच नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा समर्थकहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
शनिबार त्रिवि क्रिकेट ग्राउण्डमा भएको जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भएको खेलमा दुर्व्यवहार तथा कुटपिट समेत गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
पक्राउ पर्नेमा डोटी आदर्श गाउँपालिका-२ घर भई कीर्तिपुर पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटी दिपायल सिलगढी नगरपालिका-१ घर भई भाजंगल बस्ने १९ वर्षीय गणेश साउद छन्।
उनीहरूले केही व्यक्तिहरू उपर अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोजेको तथा विभिन्न व्यक्तिहरूलाई अभद्र व्यवहार गरेको आरोप छ।उनीहरूमाथि प्रहरीले कीर्तिपुर प्रहरी वृत्तबाट अनुसन्धान भइरहेको छ। अन्य व्यक्तिहरूको पनि प्रहरीले खोजी गरिरहेको छ।