सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहितका पाँचजनाको आज कास्की जिल्ला अदालतमा अदालती बयान हुदैछ । पक्राउ परेर हिरासतमा रहेका पाँच जनाको आज अदालती बयान हुन लागेको हो । आज लामिछानेसहित छविलाल जोशी, कृष्णप्रसाद गुरुङ, रामबहादुर खनाल र लिला पछाईंको अदालती बयान हुनेछ ।
बयान र बहस सकिएपछि धरौटीमा रिहा गर्ने कि पुर्पक्षमा पठाउने भन्ने आदेश हुनेछ । लामिछानेसहित ४४ जनाविरुद्ध हिजो कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । ३१ व्यक्ति, ८ कम्पनी, र जफत प्रयोजनका लागि पाँच जनाविरुद्ध मुद्दा दायर भएको हो ।गोलाप्रथाबाट उनीहरूको पेसी न्यायाधीश नीतिज राईको इजलासमा तोकिएको छ ।
थुनछेक बहस सकिएपछि मात्र लामिछानेलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्ने अदालतले आदेश गर्नेछ । लामिछानेमाथि अभियोजन गरिएका तीन मुद्दामा ३० करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ ।
गएको कात्तिक २ गतेयता कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध आइतबार तीन कसुरमा मुद्दा दायर गरिएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ ।
सरकारी वकिल कार्यालयले यही पूरक अभियोगपत्रबाट कारबाही सुरु गर्न समेत माग गरेको छ । लामिछानेमाथि अन्तिमपटक थपिएको म्याद शुक्रबार रातिदेखि सकिएको थियो । त्यसपछि एकैपटक आइतबार लामिछानेविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
उनीविरुद्ध पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको पहिलो कसुरमा आरोप दायर गरिएको छ । यसमा लामिछानेसँग मात्र तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा बिगो मागदाबी गरिएको छ । सम्पत्ति शुद्धीकरणमै लामिछानेको सम्पत्ति वा साधन पनि जफत गर्न माग गरिएको छ । सम्पत्ति जफत प्रयोजनका निम्ति सरकारी वकिलले उनकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको छ ।
प्रतिनिधिसभाका सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बनको प्रक्रिया अघि बढेको छ । आइतबार कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएसँगै उनको सांसद पद निलम्बनको प्रक्रिया अघि बढाइएको हो ।
त्यसका लागि आइतबार साँझ कास्की प्रहरीले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता भएको जानकारी संसद् सचिवालयलाई पठाएको हो ।सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम मुद्दा अदालतमा दर्ता भएपछि पद स्वतः निलम्बन हुन्छ ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बनमा परेको जानकारी गराए ।“उहाँको सांसद पद स्वतः निलम्बनमा रहन्छ,” उनले भने, “सम्पत्ति शुद्धीकरणको दफा २७ मा भएको व्यवस्थाअनुसार स्वतः निलम्बन हुनेछ ।”
“प्रचलित कानूनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,” ऐनमा व्यवस्था छ ।