बाजुरामा शनिबार बिहान गएको भूकम्प एउटै वडामा १२३ घरमा क्षति पुगेको छ।बिहान सवा ४ बजे ५.२ म्याग्नेच्युडको भूकम्पको केन्द्रबिन्दु रहेको जगन्नाथ गाउँपालिका-५ मा १२३ घरमा क्षति पुगेको वडाध्यक्ष गौरी सार्कीले जानकारी दिएका छन।
वडाध्यक्ष सार्कीको संयोजकत्वमा बैठक बसेर शनिबार बिहानदेखि विवरण संकलन गरिएकोमा उनका वडाका १२३ घरमा क्षति पुगेको पाइएको बताए। क्षति पुगेको घरको विवरण संकलन आजपनि जारी रहने र संकलित बिवरण माथिल्लो निकायमा पठाउने तयारी भएको उनले बताए।
बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पबाट सबै ठाउँमा गरी डेढ सय भन्दा बढी घरहरूमा क्षति पुगेको बताए। तीमध्ये बस्नै नसक्ने १५ वटा जति घरहरू रहेको जानकारि दिए । विवरण संकलनको काम पनि अझै नसकिएको उनले बताए। बस्नै नमिल्ने घरका मानिसहरूलाई सामान्य क्षति भएका घरहरूमा बस्ने व्यवस्था मिलाउन गाउँपालिका र वडाध्यक्षलाई आग्रह गरिएको उनले बताए। स्थानीय सरकारलाई क्षतिको विवरण पठाउन पनि अनुराेध गरिएकाे पनि पाध्याले बताए।
‘बाटोका कारण तत्काल राहत पुर्याइसक्ने अवस्था छैन। विवरण मागेका छौं। बस्नै नहुने घरका मानिसहरूलाई व्यवस्थापन गर्न जनप्रतिनिधिहरू लाई भनिरहेकै छौं। विवरण आएपछि राहतको काम अघि बढ्छ,’ उनले भने।वडा नम्बर २,३ र ४ मा पनि केही घरहरू भत्किएको र यि वडासंग जोडिएको बुढीनन्दा नगरपालिकामा पनि केही घरमा क्षति पुगेको प्रजिअ पाध्याले बताए।