नेपालमा ३६ वर्षीय युवामा मङ्कीपक्स (एमपक्स) पुष्टि भएको छ । एक विदेशी महिलालाई मङ्कीपक्स पुष्टि भएको झन्डै डेढ वर्षपछि नेपाली युवामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको हो ।
साउदी अरेबियाबाट बिहीबार फर्किएका एक युवामा शुक्रबार मङ्कीपक्स पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ३६ वर्षीय नेपाली युवालाई मङ्कीपक्स पुष्टि भएको जानकारी दिए ।
उनले मङ्कीपक्स पुष्टि भएका तनहुँका ती युवाको अवस्था सामान्य रहेको बताए । साउदीबाट फर्किएका युवा मङ्कीपक्सको लक्षण देखिएपछि टोखास्थित ग्रान्डी अस्पताल पुगेका थिए । अस्पतालले मङ्कीपक्सको आशङ्का लागेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गरेको थियो । टेकु अस्पतालले छुट्टै आइसोलेसनमा राखेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्न नमुना पठाएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले मङ्कीपक्स पुष्टि गर्दै सरकारले त्यसलाई नियन्त्रणको प्रयास गरिरहेको बताए । उनले हालै साउदी अरबबाट फर्किएका करिब ३६ वर्षीय युवामा मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जानकारि दिए । यसअघि २०८० असारमा विदेशबाट आएकी एक जना ६० वर्षीय विदेशी महिलामा मङ्कीपक्सको सङ्क्रमण देखिएको थियो ।
कस्तो हुन्छ लक्षण ?
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले मङ्कीपक्स ‘भाइरल जुनोसिस’ रोग भएको जानकारी दिदै मङ्कीपक्स जनावरबाट मानिसमा सरेको भाइरस भएको शुरूमा ज्वरो आउनु, हातखु्ट्टा, मुखमा बिमिरा देखिनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने बताए । उनका अनुसार डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थी बढ्नु मङ्कीपक्सका लक्षण हुन् ।
पुनका अनुसार मङ्कीपक्स सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावरबाट सर्ने शरीरमा देखिएका डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थी बढ्ने बताए । उनले मङ्कीपक्सका कारण आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्ने बताए ।
अफ्रिकी देशमा मङ्कीपक्सबाट कैयौँको मृत्यु भइसकेको छ । हाल मङ्कीपक्स १११ देशमा फैलिसकेको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिममा रहेको जनाएको थियो । मङ्कीपक्सको भाइरस भारतमा द्रुत रूपमा फैलिएपछि नेपालमा उच्च जोखिममा राखेको थियो ।
प्रवक्ता डा. बुढाथोकीले मङ्कीपक्स नियन्त्रणका लागि यसअघि नै पूर्वतयारीबारे मन्त्रालयले विषयविज्ञसँग सुझाव लिइसकेको बताउदै हवाई तथा सीमानाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको बताए । उनले यसअघि पनि मन्त्रालयले मङ्कीपक्स नियन्त्रणका लागि सात वटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको जानकारी दिए ।