सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको सभापति समेत रहेका थापाले धनराज र ज्योतिबीचको डिभोर्स शंकास्पद रहेको तर्क गरे । धनराजले श्रीमतीसँग डिभोर्स भइसकेको र अहिले आफू सम्पर्क नरहेको दावी गरेको प्रसंगमा थापाले भने, ‘हाम्रो समितिले पाएको समयको अन्तिमतिर धनराज गुरुङको विषय आयो । त्यसपछि म स्थलगत निरिक्षणमा पनि गएँ ।
उहाँको श्रीमती अमेरिकामा हुनुहुन्छ । ल्याएर अनुसन्धानको दायरमा ल्याउनुपर्छ । यो सहकारी सम्बन्धबिच्छेद भएको देखिन्छ । सहकारीमा ठगीको घटना सार्वजनिक भएपछि डिभोर्स भएको देखिन्छ ।’
धनराजले मितेरी सहकारीको करोडौँ प्रत्यक्ष अपचलन नगरे पनि ज्योतिको माध्यमबाट अपचलन गरेको थापाको विश्लेषण छ । त्यसबारे विस्तृत विवरण प्रतिवेदनमा उल्लेख गरेर सरकारलाई बुझाएको भन्दै थपेका छन्, ‘उहाँले सिधै होइन। १४ करोड ८१ लाख उहाँको श्रीमतीले अपचलन गरेको हो, श्रीमतीमार्फत् पैसा निकालेर उहाँ पनि जोडिनुभयो । त्यसबारेमा धनराजमाथि पनि सिआइबीले अनुसन्धान थालेको छ । कानूनबमोजिम कारवाही गर्ला । उहाँ अनुसन्धानको दायरबाट बाहिर हुनुहुन्न ।’
विभिन्न पार्टीका सात जना सदस्य रहेको समितिले तयार पारेको प्रतिवेदनलाई अहिले कतिपयले आफूलाई मात्रै केन्द्रीत गरेर भ्रमपूर्ण भाष्य निर्माण गर्न खोजेको थापाको भनाई छ । रास्वपाका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै भने, ‘समितिमा हामी पाँच पार्टीका सात जना थियौं । सातै जनाको सर्वसम्मतिमा त्यो प्रतिवेदन तयार भएको हो । अहिले प्रतिवेदन एक जना व्यक्ति (रवि लामिछाने)माथि केन्द्रीत भयो भनेर भ्रम फैलाउने काम गरिएको छ । प्रतिवेदन कार्यान्वयन गर्न आफैं ताली बजाएर निर्देशन दिने, अनि प्रतिवेदन कार्यान्वयन गरिरहँदा ठाउँ–ठाउँमा जुलुस प्रदर्शन गरेर अवरोध गर्ने !