नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ ।
१८१ रनको विजयी लक्ष्य पच्छ्याएको जनकपुरले १८ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १४८ रन मात्रै बनायो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो ।
जनकपुरका लागि जीमी नीशमले २४ बलमा ६५ रन बनाए पनि जिताउन सकेनन् । १८ बलमै अर्धशतक हानेका निशम एनपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बनेका छन् ।
आसिफ शेखले २३ रन जोड्दा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
चितवनका रिजन ढकाल, सोहेल तनवीर र कुशल मल्लले २/२ विकेट लिए । अमर सिंह राउटेलाले १ विकेट लिए ।
जनकपुरलाई पराजित गरेसँगै चितवनले एनपीएलको प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
प्लेअफमा आफ्नो स्थान पक्का गरिसकेको जनकपुरलाई पराजित गरेपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको छ ।