सरकारी अस्पतालहरुको शैया विवरण सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सञ्चालित १५ वटा अस्पतालको शैया विवरण सार्वजनिक गरिएको छ । जसअनुसार सबैभन्दा बढी वीर अस्पतालमा र सबैभन्दा कम तनहुँको दमौलीस्थित जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा रहेको बताइन्छ ।
मन्त्रालयका अनुसार वीरमा ९६० शैया क्षमता छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ९१३ शैया क्षमता र चितवनको भरतपुर अस्पतालमा छ सय तथा काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा ४८९ शैया क्षमता रहेको विवरणमा उल्लेख छ ।
यस्तै, भरतपुरस्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालको ४५० शैया क्षमता छ । कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ३८०, महाराजगञ्जमा अवस्थित कान्ति बाल अस्पतालको ३७२ र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको तीन सय शैया क्षमता रहेको मन्त्रालयले जनाएको छ ।
पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा २५०, भक्तपुर क्यान्सर अस्पतालमा डेढ सय, टेकूमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र डडेल्धुरास्थित डडेल्धुरा अस्पतालमा बराबर एक–एक सय शैया क्षमता छ ।
उता, तनहुँको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको सबैभन्दा कम ५० र बाँकेको खजुरास्थित शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालको ७२ शैया क्षमता रहेको विवरण मन्त्रालयले आज सार्वजनिक गरेको हो ।