ट्रम्पको शपथ समारोहमा सी सहभागी नहुने

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका लागि आगामी जनवरी २० मा शपथग्रहण समारोह हुँदैछ । राष्ट्रपतिको शपथग्रहणलाई अमेरिकी इतिहासको सबैभन्दा महत्त्वपूर्ण दिनका रूपमा लिने गरिन्छ ।

यसअघिको कार्यकालमा निकै विवादित बनेका ट्रम्प दोस्रो र अन्तिमपटक अमेरिकाको राष्ट्रपति निर्वाचित भएका थिए । त्यसैले पनि जनवरी २० अमेरिकी र सम्पूर्ण विश्वका लागि एक चर्चित दिन हो ।

आफ्नो शपथग्रहण समारोहमा ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङलाई निमन्त्रणा गरेका थिए । अमेरिकी सञ्चारमाध्यम सीएनएनले विशेष स्रोतको हवाला दिँदै सी अनुपस्थित हुने समाचार सामग्री प्रकाशित गरेको छ ।

यसअघिका अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा चिनियाँ राष्ट्रपतिको उपस्थिति हुने गर्थ्यो । तर, ट्रम्पको निमन्त्रणालाई अस्वीकार यसपटक गर्दै सी उपस्थित हुन नचाहेपछि यसले चीन-अमेरिकाबीचको पछिल्लो तिक्तता छरपष्ट पारिदिएको छ ।

यस घटनाले ट्रम्पको नेतृत्व शैली, सीको कूटनीतिक प्राथमिकता र अमेरिकी-चीन सम्बन्धका विषयमा गहिरो बहसको जग खडा गरेको छ ।

तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । जेमिनको सहभागिता अमेरिका-चीन सम्बन्धको एक महत्वपूर्ण बिन्दू थियो र त्यतिबेला उनको उपस्थितिलाई चिनियाँ नेतृत्वको सशक्त कूटनीतिक कदमको रूपमा हेरिएको थियो ।

जियाङ जेमिन बाहेक, चिनियाँ राष्ट्रपति हु जिन्ताओ पनि अमेरिकी राष्ट्रपति ओबामाको शपथग्रहण समारोहमा सहभागी भएका थिए ।

त्यतिबेला धेरै असमझदारीका बीचमा पनि चीन र अमेरिकाबीच व्यापार, ऊर्जा र सुरक्षा सम्बन्धमा मिलीजुली काम गर्ने वातावरण तयार भएको थियो ।

सीले चीनको बढ्दो शक्ति र वैश्विक प्रभावको आधारमा धेरै आक्रामक र स्वतन्त्र कूटनीतिक दृष्टिकोण अपनाएका छन् । सीले ट्रम्पको निमन्त्रणा अस्विकार गर्नुले चीनको वर्तमान कूटनीतिक शैली बदलिएको अवस्थालाई संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चर्चा गरिरहेका छन् ।​

सीकोअनुपस्थितिकूटनीतिक अस्वीकृति

सीको यस कदमले दुई देशबीचको बढ्दो तनावलाई प्रतिबिम्बित गरेको छ ।ट्रम्पले निमन्त्रणा पठाएर सीलाई अमेरिकी शक्ति र लोकतान्त्रिक प्रक्रियाको दर्शक बनाउने योजना बुनेका थिए । तर सीले आफू पनि वैश्विक शक्तिको एउटा ध्रुव भएको दाबी गर्दै ट्रम्पको निमन्त्रणालाई खारेज गरिदिएका छन् ।

ट्रम्पको शपथग्रहण समारोहमा उपस्थिति हुँदा सीले लोकतान्त्रिक सत्ता हस्तान्तरणलाई समर्थन गरेको संकेत दिन सक्थे ।सीको यो कदम चिनियाँ शासनको दार्शनिक र राजनीतिक सिद्धान्तसँग पूर्ण विरोधाभाषी रहेको सीएनएनको विश्लेषण छ ।

यस सन्दर्भमा चीन विशेषज्ञ लिली म्याकएल्वीको भनाइ उदृत गर्दै सीएनएनले लेखेको छ, ‘यो निमन्त्रणा ट्रम्पको सरप्राइज कूटनीतिक तरिकाको एउटा प्रमुख उदाहरण हो । तर, यसले अमेरिकी हितलाई कमजोर बनाउँदैन ।’

चिनियाँ समकक्षी सीलाई निमन्त्रणा पठाउने ट्रम्पको यो कदम ‘भव्य इशारा’ गर्ने उनको प्रवृत्तिको प्रतिविम्ब थियो । यो केवल कूटनीतिक परम्पराविरुद्धको कदम होइन, बरु सीलाई अमेरिकाको नेतृत्व स्वीकार गर्न बाध्य बनाउने प्रयास हो ।यस कदमले ट्रम्पको कूटनीतिक शैलीमा नयाँ दृष्टिकोण थपेको छ ।

ट्रम्पले चिनियाँ नेतृत्वलाई सन्देश दिन अप्रत्याशित कदमलाई आफ्नो शक्तिका रूपमा प्रयोग गर्ने गरेका छन् । यद्यपि यस शैलीको प्रभाव दीर्घकालीन रूपमा कत्तिको हुन्छ भन्ने प्रश्न भने सधैँ रहिरहन्छ ।

अमेरिक-चीन सम्बन्धको किचलो

ट्रम्पको निमन्त्रणा र सीको अस्वीकृति दुई महाशक्तिहरूबीचको जटिल सम्बन्धबारे अध्ययन गर्नैपर्ने गहिरो विषय हो । ताइवानमा तीव्र विवाद, दक्षिण चीन सागरमा सैन्य तनाव र आर्थिक मुद्दाहरूले यी दुई देशबीचको सम्बन्धलाई लगातार तनावपूर्ण बनाएको छ ।

सीले ताइवानलाई चीनको अभिन्न अंग मान्छन्, जबकि अमेरिका यसलाई स्वतन्त्र लोकतान्त्रिक देशका रूपमा समर्थन गर्दछ । यसैबीच, दुवै देशका सैन्य र कूटनीतिक अधिकारीहरूले बारम्बार एक-अर्काको क्षेत्रीय दाबीलाई चुनौती दिँदै आएका छन् ।

ट्रम्पको पहिलो कार्यकालमा ट्यारिफ लगाउने रणनीतिले अमेरिकी-चीन सम्बन्धलाई थप तनावपूर्ण बनाएको थियो ।ट्रम्पले चीनलाई ‘अमेरिका लुट्ने’ देश भनी आरोप लगाउँदै कडा कदम चाल्ने प्रतिबद्धता जनाउँदै आएका छन् । यद्यपि, यस प्रकारका कदमहरूले दुवै देशका अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ ।

‘ट्रम्पको ट्यारिफ रणनीति कूटनीतिक वार्ताको औजार हो कि आर्थिक युद्धको घोषणा हो ?’ विशेषज्ञ म्याकएल्वीको प्रश्न छ, ‘हामी अझै अनिश्चित छौं । यो रणनीतिमार्फत ट्रम्पले चीनसँग सौदाबाजी गर्न खोजेका पनि हुन सक्छन्, जेसुकै होस् यो दुवै देशका लागि सुखद अवस्था होइन ।’

सीकोप्रतिक्रियात्मक रणनीति

सी र चीनका अन्य शीर्ष नेतृत्वले ट्रम्पको सम्भावित कदमहरूलाई गम्भीरतापूर्वक लिएको देखिन्छ । चीनले अमेरिकी चीप निर्माता ‘न्भिदिया(Nvidia) विरुद्ध अनुसन्धान गरिरहेको छ ।

साथै अमेरिका निर्यात हुने केही खनिज पदार्थको निर्यातमा चीनले कडा प्रतिबन्ध लगाएको छ । यससँगै चीनले आफ्नो आर्थिक विकासलाई प्रोत्साहन गर्न धेरै बजेट खर्च गर्ने र वित्तीय नीति खुकुलो बनाउने योजना ल्याएको छ ।

चीनको आर्थिक वृद्धिमा दीर्घकालीन प्रभाव पार्ने यी र यस्ता कदम चालेर चीनले आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न गम्भीर प्रयास गरिरहेको देखिन्छ । वैश्विक महाशक्ति बन्ने दिशातर्फ लम्किरहेको चीनले अमेरिकी राष्ट्रपति निर्वाचनमा पनि आफ्नो कुनै सरोकार नरहेको आधिकारिक प्रतिक्रिया दिएको थियो ।

ट्रम्पको आलोचना र प्रशंसा

ट्रम्पको अप्रत्याशित कूटनीतिक शैलीले विश्वव्यापी रूपमा आलोचना र प्रशंसा दुवै पाउने गरेको छ । उनले सीलाई उद्घाटन समारोहमा बोलाएर आफ्नो पक्षमा कूटनीतिक सन्देश दिन खोजेका थिए ।उनले सीलाई आफ्नो शपथग्रहण समारोहमा उपस्थित गराएर बाहिर चर्चा भएजस्तो अमेरिका-चीनबीच ठूलो तनाव नभएको देखाउन चाहन्थे ।

ट्रम्पको निमन्त्रणा सीले स्वीकार गरेको भए दुवै देशबीचको सकारात्मक सम्बन्धको विश्वव्यापी चर्चा हुने थियो । विश्लेषकहरूले सीको अस्वीकृतिले ट्रम्प-सीको सम्बन्ध आगामी दिनमा सहज नहुने आकलन गरेका छन् ।

राष्ट्रपति सीले अमेरिकी समकक्षीको शपथ ग्रहणमा उपस्थित हुने निर्णय गरेको भए उनले अमेरिकी शक्ति र लोकतान्त्रिक प्रक्रियाको समर्थन गरेको देखिन सक्थ्यो, जुन चीनको एकदलीय शासनको सिद्धान्तसँग मेल खाँदैन ।

त्यस्तै, शपथ ग्रहण समारोहमा उपस्थित भएपनि सीलाई ट्रम्पले गरेको भाषण सुन्ने मात्र विकल्प हुन्थ्यो, जवाफ दिन पाउँदैन थिए । यो सी नेतृत्वको दृष्टिकोणमा अस्वीकार्य र अमान्य रहेको मानिन्छ ।

त्यस्तै, सी आफ्नो देशलाई एक पहिलो वैश्विक शक्ति बनाउन चाहन्छन् । यस्तो समारोहमा सहभागी भएर अमेरिकाको नेतृत्वलाई स्वीकृति दिनु उनको उद्देश्यसँग विपरीत रहेको अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *