त्रिवि सभाले पारित गर्‍यो १२ बुँदे नीति

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बाट १२ वटा नीति पारित भएको छ ।बिहीबार बसेको सभाबाट १२ वटा नीति पारित भएको हो । जसमा विश्वविद्यालय प्रध्यापन सेवामा गर्नका लागि न्युनतम योग्यता पुनर्विचार गर्ने, आंगिक र सम्बन्धन प्राप्त क्याम्पस वा कलेजमा प्राध्यापन गर्न विश्वविद्यालय सेवा योग्यता परीक्षण परीक्षा व्यवस्था गर्नेदेखि श्रम बजारको माग अनुसार ननक्रेडिट पाठ्यक्रमको विकास र सञ्चालन गर्नेसम्मका नीति रहेका छन् ।

यस्तै, त्रिविको पुनर्संरचना गर्ने ऐन र नियमको संशोधन प्रक्रिया सुरु गर्ने, निजी क्षेत्रमा सञ्चालित क्याम्पस सामुदायिक क्याम्पसमा, सामुदायिक क्याम्पस सामुदायिक क्याम्पसमा र निजी क्याम्पस निजी क्याम्पसमा गाभ्ने नीति साधारण सभाबाट पारित भएका छन् ।यस्तै त्रिवि सभाले प्रयोगशाला बीमाको व्‍यवस्था गर्ने नीति पास गरेको छ ।

त्रिविमा हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा डिन र क्याम्पस प्रमुख नियुक्तिमा आफूले हस्तक्षेप नगरेको बताएका छन् । बिहीबार त्रिवि सभामा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘के भएर डिन नियुक्तिमा विलम्ब भयो ? नाम निकाल्नुहोस्, ‘प्रधानमन्त्री ओलीले भने, ‘मेरिटोक्रेसीमा प्रश्न नउठोस् । निष्पक्ष ढंगले काम होस् । मबाट हस्तक्षेप भएको छैन । तर, मेरो नाम आउँछ । अरू के भयो थाहा छैन । मेरोबाट विलम्ब भएको छैन ।’

प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीबाट डिन र क्याम्पस प्रमुख नियुक्त गर्न त्रिवि नेतृत्वलाई निर्देशन दिए ।‘नियुक्ति साँच्चिकै मेरिटोक्रेसीबाट हुनुपर्छ । एउटा समिति बनाएर मात्र मेरिटोक्रेसी हुँदैन,’ उनले भने । नियुक्तिमा आफूले हस्तक्षेप नगरेको उनले बाताए ।

‘कुलपतिले हस्तक्षेप गर्‍यो भनिन्छ । प्रधानमन्त्रीलाई गाली नगरी हुँदैन,’ उनले भने,  ‘हस्तक्षेप हुँदैन । हस्तक्षेप होइन संस्थाले निर्णय गर्छ ।’आफूले गर्न पाए हुन्थ्यो भन्नू स्वायत्तता नभएको उनले बताए । डिनको नाम निकाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

विश्वविद्यालय राम्रो होस् भन्नेमा कुलपतिले ध्यान दिने उनले बताए ।आगामी ७ पुसभित्र डिन नियुक्ति गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए । ‘७ पुसमा बस्ने अनौपचारिक सभामा नयाँ डिन लिएर आउनू,’ प्रधानमन्त्री ओलीले भने ।

त्रिविको सभाबाट प्रधानमन्त्री निस्कँदा कर्मचारीको नाराबाजी

त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूले नाराबाजी गरेका छन् । बिहीबार त्रिविको सभा (सिनेट) मा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन पुगेका थिए । उनी सभाबाट बाहिरिने क्रममा कर्मचारीहरूले नाराबाजी गरेका हुन् ।

कर्मचारीहरूले सेवा सुविधाको माग राखेर नाराबाजी गरेका हुन् । बिहानैदेखि कर्मचारीहरू सभास्थल अगाडि पुगेर बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *