नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गुर्खाजलाई पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा प्रवेश गरेको छ । जनकपुर बोल्ट्स एनपिएलको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।
आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित भएको हो । टस जितेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौँले १०२ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य जनकपुर बोल्ट्सले पाँच विकेट गुमाउदै १६ औं ओभरको अन्तिम बलअघि नै पूरा गरेको थियो । योसँगै जनकपुरले छमध्ये पाँच खेल जित्दै १० अंक जोडेको छ ।
जनकपुरलाई जित दिलाउन हर्ष थाकेरले २५ रनको योगदान दिए । त्यस्तै, मोहम्मद महसिनले १३ र लाहिरु मिलान्थाको १६ रनले जनकपुरलाई अग्रतातर्फ डोर्याएको थियो ।
काठमाडौं गुर्खाजले आजको हारसँगै प्लेअफको लागि थप संघर्ष गर्नुपर्ने देखिएको छ । अब बाँकी दुई खेल जित्नैपर्ने दबाबमा उक्त टिम देखिन्छ । अन्यथा, प्लेअफको दौडबाट बाहिरिनेछ । अन्य टिमले पनि काठमाडौँ गुर्खाजको बाँकी यात्रा तय गर्नेछन् ।