कोल पाल्मरको दुई गोलको मदतले चेल्सीले इंग्लिस प्रिमियर लिगमा आइतबार टोटनहमलाई ४–३ ले हराएको छ । निर्णायक गोल भने एनजो फर्नान्डेजको नाममा रह्यो र चेल्सी दुई गोलले पछाडि रहेको स्थितिबाट यो शानदार जित निकाल्न सफल रहेको हो ।
यो जितसँगै चेल्सी उपाधि होडमा सामेल भएको छ । उसको १५ खेलबाट ३१ अंक भएको छ र लिग तालिकाको दोस्रो स्थानमा छ । शीर्षमा रहेको लिभरपुलसँग यो चार अंकको दूरी मात्रै हो । उसको पछाडि आर्सनलको २९र म्यानचेस्टर सिटीको २७ अंक छ ।
चेल्सीका प्रशिक्षक एन्जो मार्सेकाले खेलपछि प्रतिक्रिया दिए, ‘हामी यो जितको गतिलाई कायम राख्न चाहन्छौं । हामी अहिले नै उपाधिको दावेदार भएका छैनौं, तर प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शनका लागि प्रयासरत रहने छौं ।’
आर्सनलले भने फुलहमसँग १–१ को बराबरी खेलेको हो र यो नतिजाले उसको लिग यात्रा भने कमजोर भएको छ । ‘यो बराबरीको नतिजामा हामी असाध्यै निराश छौं, नत्र खेल पूर्णतः हाम्रो नियन्त्रणमा थियो,’ प्रशिक्षक मिखेल आर्टेटाले भनेका छन् ।
यस्तै लेस्टर सिटी र ब्राइटनले पनि २–२ को बराबरी खेले । बर्नमाउथले भने इपस्विच टाउनलाई २–१ ले हरायो । उतारचढावपूर्ण खेल प्रदर्शन गरिरहेको टोटनहम भने २० अंकमै सीमित रहेर निराशाजनक रूपमा ११ औं स्थानमा छ ।