आजकाे एनपीएल मा चितवन र जनकपुर बिजयी

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सुदूरपश्चिमलाई चितवनको झट्का

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो पराजय भोगेको छ । पहिलो तीन खेल जितेको सुदूरपश्चिमलाई आइतबार चितवन राइनोजले ३३ रनले पराजित गर्‍यो । १ सय ६५ रनको लक्ष्य लिएर मैदान उत्रिएको सुदूरपश्चिम १ सय ३१ रनमै समेटियो ।

 

चितवनले ४ खेलमा तेस्रो विजय हात पारेको हो । सुदूरपश्चिम र चितवन समान ६ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । जनकपुर बोल्ट्स पहिलो चारै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ ।

इशान पाण्डेले सुदूरपश्चिमबाट सर्वाधिक ३५ रन बनाए । उनले २८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । सैफ जैब १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्वा १२, आरिफ शेख ४, कप्तान दीपेन्द्रसिंह ऐरी १, नरेश बुढाऐर ५, नरेन साउद १० रनमा आउट भए ।

आउट हुने अन्तिम खेलाडी स्कट कुग्लेनले १० बलमा ३ चौकासहित १६ रन बनाए । चितवनबाट रिजन ढकाल, कुशल मल्ल, यान निकोलस लफ्टी इटन र अमरसिंह रौउटेलाले २–२ तथा सोहेल तनवीर र रन्जीत कुमारले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली ५ विकेट गुमाई १ सय ६४ रन बनाएको थियो । ओपनर हसन इसाखिलले चितवनबाट सर्वाधिक ६५ रन बनाए । उनले ५२ बल खेली ६ चौका र ३ छक्का प्रहार गरे । पहिलो पटक ओपनरको भूमिकामा पठाइएका सन्तोष कार्कीले ९ रनमात्र बनाउन सकेका थिए । विपिन रावल २० बलमा १७, कुशल १६ बलमा १३ रन बनाई आउट भए ।

 भेट्रान इंग्लिस ब्याटर रवि बोपारा १८ बलमा समान २ चौका र छक्का प्रहार गरी ३६ रनमा आउट भए । रौटेला ३ बलमा ६ र लफ्टी इटन ४ बलमा २ रन बनाई अविजित रहे । सुदूरपश्चिमबाट कुग्लेनले २ विकेट लिए । उनले ४ ओभरमा २९ रन खर्चेका थिए । दीपेन्द्र, म्याकमुलेन र जैबले १–१ विकेट लिए ।

राेमाञ्चक खेलमा जनकपुरद्वारा लुम्बिनी १ रनले पराजित

सन्दीप जोराले अन्तिम बलमा २ रन प्रहार गर्न नसकेपछि लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार चौथो खेलमा पराजित भएको छ । जोरा अन्तिम बलमा आउट भएपछि आइतबार जनकपुर बोल्ट्सले लुम्बिनीलाई १ रनले पराजित गरेको हो ।

लुम्बिनीको ठिक उल्टो जनकपुरले लगातार चौथो खेल जितेको छ र टोली सुदूरपश्चिम रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लेको छ ।

लुम्बिनीलाई अन्तिम दुई ओभरमा विजयका लागि २३ रनको आवश्यकता थियो । १९ औं ओभरमा लुम्बिनीले १४ रन जोडेको थियो, त्यसमध्ये १३ रन जोराका नाममा थियो । अन्तिम ओभरको पहिलो बलमै हर्ष ठाकरले साद बिन जाफरलाई शून्यमा आउट गरे । दोस्रो बलमा दुर्गेश गुप्ताले चौका प्रहार गरे । तेस्रो बलमा कुनै रन बनाउन नसकेका दुर्गेशले चौथो बलमा १ रन लिए ।पाँचौं बलमा २ रन लिने प्रयासमा जोरा मुस्किलले रनआउट हुनबाट जोगिएका थिए । अन्तिम बलमा लुम्बिनीलाई जितका लागि २ रन चाहिन्थ्यो भने १ रनले स्कोर बराबर हुन्थ्यो । तर जोराले ठाकरको बल पुल गर्न खोज्दा टप एज लागेर स्क्वायर लेगमा किशोर महतोलाई क्याच दिन पुगेपछि जनकपुरले रोमाञ्चक विजय हात पारेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीका ओपनर आशुतोष घिरोहियाले पुनः निराश बनाए । उनी ८ रनमात्र बनाई आउट भए । अर्का ओपनर अर्जुन साउदले २३ बलमा २ चौकासहित २० रन बनाए । कप्तान रोहित पौडेलले ३५ रन जोडे । उनले ३८ बल खेल्दै ३ चौका प्रहार गरे । टम मुर्सले २३ बलमा ३१ रन बनाउने क्रममा २ चौका र १ छक्का प्रहार गरे । रोहित आउट भएसँगै लुम्बिनीको विकेट झर्ने क्रम सुरु भएको थियो । विवेक यादव शून्य, बेन कटिङ ३ रनमा आउट भए ।

जनकपुरका लागि ठाकेरले ४ ओभरमा २३ रन खर्चेर ५ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १३, किशोरले ३ ओभरमा २५ र शेर मल्लले ४ ओभरमा ३३ रन खर्चेर १–१ विकेट लिए । यसअघि टस हारेपछि ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३६ रन बनाएको थियो ।

उत्कृष्ट सुरुआत गरेको जनकपुर प्रतियोगितामा पहिलो खेल खेलिरहेका लुम्बिनीका अभिशेष गौतमको बलिङअगाडि एकाएक पतन हुन पुगेको थियो । देब्रेहाते स्पिनर अभिशेषले एकै ओभरमा ३ विदेशी खेलाडीको विकेट लिएपछि १२ औं ओभरमा ९५–१ को अवस्थामा रहेको जनकपुर १६ औं ओभरमा ११०–७ को स्थितिमा पुगेको थियो ।

अभिशेषले १३ औं ओभरमा प्रतियोगिताका सर्वाधिक रनकर्ता लाहिरु मिलान्था, हर्ष ठाकर (१) र जिम्मी निसम (१) को विकेट लिएका थिए । दुई ओभरपछि रोहितले मोहम्मद मोहसिन (३) र शेर मल्ल (०) लाई आउट गरेका थिए । अभिशेषले ४ ओभरमा २० रनमात्र खर्चेर ३ विकेट लिए ।

नेपाली यू–१९ टोलीका कप्तान हेमन्त धामी ९ रनमा आउट भए । शुभ कंसाकारले २४ बल खेली २ चौकासहित २२ रन बनाए । अभिशेष बाहेक साद बिन जाफर र रोहितले २–२ विकेट लिए । जाफरले ३ ओभरमा ११ र रोहितले ४ ओभरमा २२ रन खर्चे ।

आसिफ शेख र अनिल साहले ६ ओभरभित्र ४८ रन जोडी जनकपुरलाई राम्रो सुरुआत दिलाएका थिए । आसिफ १० बलमा २ चौका र १ छक्का प्रहार गरी १६ रनमा आउट भए । अनिलले ३९ बल खेली १ चौका र ४ छक्कासहित ४५ रन बनाए । उनलाई ‘पार्ट टाइम’ बलर सन्दीप जोराले आउट गरेपछि जनकपुरको पतन सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *