जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि सोमबारसम्म वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ । विभागले विशेष बुलेटिन जारी गर्दै पश्चिम नेपालमा यसको प्रभाव बढी पर्ने जानकारी दिएको हो ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागको प्रक्षेपण छ । विभागले गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने जनाएको छ ।
आज भने देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागलगायत तराईका बाँकी भू-भाग तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।