दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ । युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए र राष्ट्रपतिलाई निर्णय फिर्ता लिन बाध्य बनाए । विपक्षीले बुधबार राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेका छन् ।
चार दशकभन्दा बढी समयपछि पहिलो पटक नागरिक शासन निलम्बन गर्ने युनको आश्चर्यजनक प्रयासले दक्षिण कोरियालाई गहिरो उथलपुथलमा तानेको हो । कदमले सियोलका निकट सहयोगीहरूलाई चिन्तितसमेत बनाएको छ । सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित भएका परम्परावादी राजनीतिज्ञ तथा पूर्व सरकारी वकिल युनको भविष्य अहिले निकै अनिश्चित बनेको छ ।
दक्षिण कोरियाका विपक्षी दलले बुधबार युनलाई महाभियोग लगाउने प्रस्ताव दर्ता गराएका छन् । विपक्षी डेमोक्रेयाटिक पार्टी (डीपी)का नेता किम योङ मिनले भन्छन , “हामीले तत्काल राष्ट्रपति युनविरूद्ध महाभियोग प्रस्ताव पेश गरेका छौं ।” उनीहरुले राष्ट्रपति युनविरुद्धको महाभियोग प्रस्तावमा संसदमा मतदान कहिले राख्ने भन्ने बारे निर्णय गर्न बाँकी छ । उच्च पदस्थ विपक्षी नेताहरुले मतदान शुक्रबारसम्म हुन सक्ने बताएका छन् ।
दक्षिण कोरियाको ३०० सदस्यीय संसदमा विपक्षीदलसँग भारी बहुमत छ तर प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाइ बहुमत भने पुग्दैन । यसका लागि राष्ट्रपतिको पार्टीबाट केही सांसदकोे दलबदल आवश्यक छ । यसअघि डीपीले युन, उनका रक्षा तथा आन्तरिक मामिलामन्त्री, सैन्य कानुनका कमान्डर र प्रहरी प्रमुखलगायतका अधिकारीविरुद्ध राज्य विद्रोह (कू) को मुद्दा दायर गर्ने बताएको थियो ।
यसैबिच, पछिल्लो घटनाक्रमलाई लिएर देशको सबैभन्दा ठूलो छाता श्रमिक सङ्घले युनले राजीनामा नदिएसम्म अनिश्चितकालीन आम हड्तालको आह्वान गरेको छ । युनको आफ्नै सत्तारुढ दलका नेताले समेत राष्ट्रपतिको यो कदमलाई ‘दुःखद’ भन्दै घटनामा संलग्नलाई जवाफदेही बनाउन माग गरेका छन् । युनले उत्तर कोरिया र ‘राज्यविरोधी शक्ति’को खतराको हवाला दिँदै मङ्गलबार राति टेलिभिजनमा सैनिक शासन लागू गरिएको घोषणा गरेका थिए ।
राष्ट्रपतिको उक्त कदमपछि २४ वटा हेलिकप्टरको सहयोगमा २८० भन्दा बढी सैनिक संसद भवन पुगेका थिए । तर, १९० जना सांसदले राइफल बोकेका सैनिकको धज्जी उडाउँदै संसद भवनभित्र पसेर त्यसको विपक्षमा मतदान गरेका थिए । यसले युनलाइ आफ्नो निर्णय फिर्ता लिन बाध्य बनायो । उनका लागि स्थानीय समयअनुसार मङ्गलबार बिहान ४ः३० बजे अर्को टेलिभिजन सम्बोधन गरी सेनालाई फिर्ता बोलाउनुबाहेक अर्को विकल्प थिएन ।
कोरियाली संविधानअनुसार संसदमा बहुमतले माग गर्दा सैनिक शासन हटाउनुपर्ने प्रावधान छ । युनका लागि काम गर्ने वरिष्ठ सहयोगीहरुले बुधबार सैनिक शासन घोषणाको विरोधमा सामूहिक राजीनामा दिने प्रस्ताव गरेका थिए । यो समाचार तयार पार्दा सम्म पनि युन फेरि सार्वजनिकरुपमा देखा परेका छैनन् ।
घोषणा फिर्ता गर्ने राष्ट्रपतिको निर्णयपछि संसद बाहिर झण्डा फहराइरहेका प्रदर्शनकारीहरुबिच खुशीयाली छाएको थियो । उनीहरुले युनको सैन्य शासन घोषणाको अवज्ञा गर्दै रातभर सतर्कता अपनाउन चिसो तापक्रममा प्रदर्शन गरेका थिए । एएफपीसँग कुरा गर्दै प्रदर्शनमा सहभागीमध्ये एक अगुवा कार्यकर्ता, ५५ वर्षीय लिम मियोङ–पानले अब युनले बिदा लिनैैपर्ने बताए ।
लिमले एएफपीसँगको कुराकानीमा भने , “वैध कारण विना नै सैन्य शासनको घोषणा गर्नु युनको आफैंमा गम्भीर अपराध हो ।” उनले यसबाट महाभियोगको मार्ग प्रशस्त गरेका छन् । बुधबारसम्म थप विरोध प्रदर्शन हुने अनुमान गरिएकाले बुधबार दिउँसो ठूलो सङ्ख्यामा प्रहरीले मुख्य स्थानहरुमा गस्ती गरिरहेका थिए ।
अर्का सहभागी ५० वर्षीय किम मिन-होले बुधबार महासभामा आयोजित नयाँ प्रदर्शनमा एएफपीसँग भने , “म यति क्रोधित भएँ कि हिजो राति म एक पल पनि निदाउन सकिनँ ।” युनले उत्तर कोरियाको कम्युनिष्ट शक्तिले निम्त्याएको खतराबाट उदार दक्षिण कोरियालाई जोगाउन र जनताको स्वतन्त्रता र खुशी लुट्ने राज्यविरोधी तत्वलाई समाप्त पार्न सैनिक शासनको लागू गरेको बताएका थिए ।
युनले उत्तर कोरियाको खतराबारे विस्तृत जानकारी नदिए पनि आणविक शक्ति सम्पन्न प्योङयाङसँग प्राविधिकरुपमा दक्षिण कोरिया युद्धमा छ । “हाम्रो संसद् (नेशनल एसेम्ब्ली) अपराधीहरुको आश्रयस्थल बनेको छ, विधायिकी तानाशाहीको अखडा बनेको छ जसले न्यायिक र प्रशासनिक प्रणालीलाई पंगु बनाउन र हाम्रो उदार लोकतान्त्रिक व्यवस्थालाई उल्टाउन खोज्छ,” यूनले घोषणामा भनेका थिए ।
दक्षिण कोरियाको निकट सहयोगी संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचित ट्रम्पले प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीलाई ‘राष्ट्रपतिलाई सत्ता अपदस्थ गर्न उद्दत राष्ट्रविरोधी शक्ति’को संज्ञा दिनुभएको छ । हालैका हप्ताहरुमा युन र उनको पिपुल्स पावर पार्टीले अर्को वर्षको बजेटलाई लिएर विपक्षीहरूसँग कडा मतभेदहरूको सामना गरेका छन् ।
विपक्षी सांसदहरुले गत हप्ता संसदीय समितिमार्फत बजेट योजना पारित गरेका थिए जसले युनको खर्च योजनामा कटौती गरेको थियो । गत हप्ता ‘ग्यालप’को पछिल्लो सर्वेक्षणमा राष्ट्रपतिको अनुमोदन दर १९ प्रतिशतमा झरेको थियो । मतदाताहरु अर्थव्यवस्थाको अवस्था र उनकी पत्नी किम किन हीसँग सम्बन्धित विवादहरुलाई लिएर आक्रोशित भएका देखिन्छन् । रासस/एएफपी