भैरहवा : भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान रोकिएको छ । एयरवेजले भैरहवा विमानस्थलबाट कार्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म उडान अनुमति लिएको थियो । त्यसपछि उसले अनुमति नलिदा उडान रोकिन पुगेको हो ।
कतार एयरवेजले मंसिर १५ गतेसम्म मात्र उडान अनुमति लिएकोले भैरहवाबाट एयरवेजको उडानको रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।
‘कतार एयरवेजले अनुमति लिदा ०८१ चैत १६ गतेसम्म अनुमति लिनुपर्ने हो तर, कार्तिक २७ गते देखि मंसिर १५ गतेसम्ममात्र अनुमति लिएको थियो’,उनले भने,‘उक्त समयावधीको अनुमति लिदा एयरवेजले पछि अवस्था हेरेर समय थप गर्ने भनेको थियो । तर, अहिलेसम्म थप अनुमतिको लागि प्रस्ताव गरेको छैन ।’उनले आफूहरूले भैरहवाबाट उडानका लागि कतार एयरवेजसँग समन्वय गरिरहेको र उडानको अपेक्षा लिइएको बताए ।
हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स,जजिरा एयरवेज,फ्लाई दुबई र थाई एयर एशियाले नियमित उडान गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कतार एयरवेजले काठमाडौं भन्दा भैरहवादेखि दोहा (कतार) को हवाई भाडा निकै मंगहो गरेको थियो ।