अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहित सामाजिक सञ्जाललाई सोमबार कारबाही गरेको छ ।तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी सञ्चालित छन् । मिडिया अन्तरगत दर्ता सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाललाई काउन्सिलले अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरेको छ ।
काउन्सिलको अनुगमनको क्रममा मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल)बाट आम मानिसलाई उत्तेजित बनाउने तथा सन्त्रास फैलाउने, घृणा तथा द्वेष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण अभिव्यक्तिरभनाइलाई प्राथमिकताका साथ स्थान दिई सम्प्रेषित सामग्री पहिलो दृष्टिमा आचारसंहिता प्रतिकूल देखिएको उल्लेख छ ।
‘सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्छ । संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आमसञ्चार माध्यमको प्रतिबद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवं क्रियाशील छु,’ विज्ञप्तिमा भनिएको छ ।
काउन्सिलले सामाजिक सद्भाव बिगार्ने, घृणा तथा द्वेष फैलाउने र वैयक्तिक गोपनीयता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ता लगायत सम्बद्ध सम्पूर्ण पक्षको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।