सूर्य नेपाल गल्फ टुरको सन् २०२४-२५ सिजन आजदेखि सुरु हुँदैछ । सिजनको पहिलो प्रतियोगिताका रूपमा सूर्य नेपाल सेन्ट्रल ओपन आजदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुनेछ ।
प्रतियोगितामा चर्चित प्रोफेसनल र एमेच्योर गल्फ खेलाडीको सहभागिता रहनेछ । आयोजक नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपिजिए)ले पत्रकार सम्मेलन गर्दै टुरअन्तर्गतका आठ इभेन्टको तालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार सिजनको पहिलो इभेन्ट, सूर्य नेपाल सेन्ट्रल ओपन नोभेम्बर २५ देखि २८ सम्म सञ्चालन हुनेछ । टुरको पहिलो इभेन्ट बिहीबारसम्म हुनेछ । इभेन्टमा ३३ प्रोफेसनल र सात एमेच्योर गरी ४० गल्फरले सहभागिता जनाउनेछन् ।
कुल ७२ होलमा खेलाइने इभेन्टको पहिलो चरणमा ३६ होल हुनेछ । जसमध्ये शीर्ष २१ भित्र पर्ने गल्फर दोस्रो चरणमा प्रवेश गर्नेछन् । इभेन्टको कुल पुरस्कार राशि आठ लाख ८२ हजार हुनेछ । इभेन्टको विजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सिजनको दोस्रो इभेन्ट सूर्य नेपाल काठमाडौं ओपन डिसेम्बर १० देखि १३ सम्म रोयल नेपाल गल्फ क्लब, काठमाडौं तथा तेस्रो इभेन्ट सूर्य नेपाल इस्टर्न ओपन डिसेम्बर २३ देखि २६ सम्म धरान गल्फ क्लब, धरानमा हुनेछ ।
चौथो इभेन्ट सूर्य नेपाल वेस्टर्न ओपन २०२५ जनवरी २१ देखि २४ सम्म हिमालयन गल्फ क्लब, पोखरामा हुनेछ भने पाँचौँ इभेन्ट सूर्य नेपाल च्यालेन्ज फेब्रुअरी ११ देखि १४ सम्म हुनेछ । यो इभेन्टको आयोजना स्थल भने तय भएको छैन ।
सिजनको छैटौँ इभेन्ट सूर्य नेपाल एनपिजी टुर च्याम्पियनसिप मार्च १७ देखि २० सम्म गोकर्ण फरेस्ट क्लबमा हुनेछ । सातौँ इभेन्ट सूर्य नेपाल एनपिजिए म्याच प्ले अप्रिल ८ देखि १० सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।
सिजनको अन्तिम इभेन्ट सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण फरेस्ट क्लबमा हुनेछ । यो सबैभन्दा धेरै धन राशिको इभेन्ट हो । इभेन्टको कुल पुरस्कार राशि १६ लाख १९ हजार छ ।
सिजन २४/२५ को कुल पुरस्कार राशि ६७ लाख ३२ हजार रहेको आयोजकले जनाएको छ । प्रत्येक इभेन्टको विजेताले पुरस्कार राशिको १७ प्रतिशत पाउनेछन् ।