सहकारी क्षेत्रमा सधै आफू अनुकूलको समूहलाई गराउँदै आएको नेकपा एमालेको तत्कालीन सहकारी विभाग सचिव केबी उप्रेतीले २ अर्बभन्दा बढी ठगी गरेको घटनामा प्रभावकारी अनुसन्धान नभएको स्रोतको दावी छ ।
उनले नेतृत्व गरेको सहकारीमा अन्तरलगानी र बाह्य ऋण लिनेहरुको कारोवारको अनुसन्धान नै नभएको अवस्था छ । अझ गम्भिर प्रश्न त उनले राष्ट्रिय सहकारी बैंकमार्फत प्रवाह गरेको कर्जाको विषयले सहकारी बैंकमा समेत तनाव बढेको छ ।
उक्त बैंकको दुई कार्यकाल महाप्रवन्धक र एक कार्यकाल अध्यक्ष रहेर झण्डै डेढ दशक चलाएका उनको परिवारका सदस्य, ज्वाइँ, सम्धी र अन्य निकट व्यक्तिहरुको समेत सम्पति छानवीन हुनुपर्ने आवाज उठिरहेको छ ।
उप्रेतीको कारण बैंक धराशायी र ध्वस्त हुँदैछ भनेर लेखा समितिको प्रतिवेदनमार्फत औंल्याएका एमालेकै नेता कुलचन्द्र अधिकारी र कुमार खत्रीहरुले नै ठीक विषय उठाएका रहेछन् भन्दै बैंकका सदस्यहरुले आउँदो साधारणसभालाई विशेष साधारणसभामा रुपान्तरण गर्दै उप्रेतीलाई पदमुक्त गर्नुपर्ने माग उठाइरहेका छन् ।
उप्रेतीका गलत क्रियाकलापले सहकारी क्षेत्रमा निकै ठूलो क्षति हुने र त्यसको दाग पार्टीलाई लाग्ने भन्दै तत्कालीन एमाले नेताहरुले ७ वर्षअघि नै तत्कालीन उपमहासचिव तथा बर्तमान अर्थमन्त्री विष्णु पौडेलको भैंसेपाटीस्थित निवासमै पुगेर ध्यानाकर्षण गराएका थिए भने सहकारी विभागका तत्कालीन प्रमुख केशव बडाललाई राष्ट्रिय सहकारी महासंघको कार्यकक्षमै गएर पार्टीले वित्तीय अपराधीको सिण्डिकेटको संरक्षण गर्न नहुने भन्दै आवाज उठाएका थिए ।
उप्रेतीले नेपाली काँग्रेसको कोटाबाट केदार मानन्धर, माओवादी कोटाबाट मनोज थापा र रामहरि बजगाई, एकीकृत समाजवादीको नाममा ध्रुवराज विष्टहरुलाई च्यापेर सर्बदलीय टीमको नाममा एकछत्र गरिरहेका थिए । हाइड्रोपावर कम्पनीदेखि घरजग्गा र धेरै कारोवारमा जोडिएका बजगाईलाई त माओवादीबाट एमालेमै प्रवेश गराई सकिएको छ । मानन्धर र थापा पनि एमालेमा पसिसके ।
धेरै कोणबाट अनुसन्धान अघि बढ्ने भएपछि नेकपा एमालेको छत्रछायाँमा जोगिन सजिलो हुने भन्दै त्यसरी प्रवेश गरेको टोलीलाई उप्रेतीले जेलभित्रैबाट समन्वय गरिरहेका छन् । यसबारे सरकारले नै छानवीन गर्नुपर्ने माग सहकारी बैंकको मंसिर २९ मा हुने साधारणसभामा समेत उठ्ने बैंकका एक पूर्व सञ्चालकले जनआस्थालाई बताए ।
माओवादी र एमाले हुँदै नेपाली काँग्रेसको सहकारी विभाग सदस्य भएका सुरेन्द्र भण्डारी लालीगुराँस सहकारी संस्था ललितपुरका अध्यक्ष छन् । उनको पनि रबीको जसरी स्टेटमेन्ट चेक गर्ने हो भने एमाले, काँग्रेस र माओवादीका धेरै नेता छानवीनको दायरामा आउनसक्ने गाइँगुई छ ।
भण्डारीले पछिल्लो समय एमालेका धेरै नेतालाई स्वेट डिपोजिट स्लिप दिएको सुनिन्छ । यस्तै काँग्रेस नेता सीबी लामाको नेतृत्वमा सञ्चालित कान्तिपुर सेभिङ र पशुपति सेभिङमार्फत ८ अर्बभन्दा बढी रकम हिनामिना भएको छ । लामालाई सुरक्षित रुपमा जेलभित्रैबाट कारोवार गर्न दिइएको छ ।
(साभार:जनआस्था-साप्ताहिकबाट)