युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न राष्ट्रपति जो बाइडेनले अनुमति दिएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले धेरै अघिदेखि रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति मागिरहेका थिए। तर त्यस्तो अनुमति दिए रूसले पश्चिमाहरूमाथि नै प्रहार गर्ने वा युक्रेनमाथि आणविक हतियार प्रयोग गर्न सक्ने डरका कारण बाइडेनले अनुमति दिएका थिएनन्।
उत्तर कोरियाका १० हजारभन्दा बढी सैनिक रूसका तर्फबाट लड्ने पक्का भएपछि बाइडेनले अन्ततः अनुमति दिएका छन्।युक्रेनले आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (अट्याक एम्स) भनिने लामो दुरीका हतियार रूसी भूमिभित्र प्रयोग गर्ने अनुमति तीन दिनअघि नै दिएको भनेर विभिन्न पश्चिमा मिडियाले जनाएका छन्।
युक्रेनले कब्जा गरेको रूसको कुर्स्क क्षेत्रको भूमि फिर्ता गर्न तयारी गरिरहेका रूसी-उत्तर कोरियाली सैनिक र उनीहरूले प्रयोग गर्ने हतियारको भण्डारस्थल लगायत ठाउँमा ती हतियार प्रयोग गरिने अमेरिकी अधिकारीहरूको हवाला दिँदै ती मिडियाले लेखेका छन्।
थप सैनिक पठाउनुअघि उत्तर कोरिया हच्कियोस् भनेर अमेरिकाले अनुमति दिएको मानिन्छ।यी हतियारले ३७५ पाउण्डसम्मको बम १९० माइल टाढासम्म प्रहार गर्न सक्छन्। अमेरिकाले पहिल्यै दिएको हाइमार्स हतियारको लन्चर र त्योभन्दा पुराना बेलायती र जर्मन एम२७० लन्चरले समेत यिनलाई प्रहार गर्न मिल्नेछ।
यतिको दुरीसम्म प्रहार गर्ने कुनै पनि हतियार हाल युक्रेनसँग छैन।रिपब्लिकन पार्टीबाट भर्खरै निर्वाचित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्न दुई महिनामात्रै बाँकी हुँदा बाइडेनले यो अनुमति दिएका हुन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले चुनाव प्रचारका क्रममा आफूले जिते रूस-युक्रेन युद्ध २४ घण्टाभित्रै रोकिदिने घोषणा गरेका थिए। कसरी युद्ध रोक्ने भन्ने उनले विस्तृत रूपमा नखुलाए पनि उनले युक्रेनलाई दिइरहेको सैन्य सहायता रोक्ने धम्की दिएर युक्रेनलाई पुटिनको शर्त मान्न दबाब दिने अनुमान गरिएको छ। हाल जुन-जुन ठाउँमा ज-जसले कब्जा गरेको छ ती ठाउँ तत्-तत् देशको नियन्त्रणमा रहने गरी शान्ति सम्झौता गर्न ट्रम्पले प्रस्ताव गर्ने मानिन्छ। अहिले रूसको नियन्त्रणमा रहेको भूमि माया मार्न युक्रेनले नमाने उनले सैन्य सहायता रोक्ने धम्की दिने अपेक्षा गरिएको छ। जर्मनी लगायत केही युरोपेली देश पनि लगातार युक्रेनलाई सहायता दिनु परेर थाकेकाले त्यस्तो शर्तमा युद्ध रोक्ने पक्षमा रहेको देखिन्छ।
त्यसो भए कुर्स्क क्षेत्रबाट युक्रेनी सेना लखेट्न नसके दोस्रो विश्वयुद्धपछि पहिलो पटक कुनै राष्ट्रले कब्जा गरेको रूसी भूमि युक्रेनको भागमा पर्ने छ। त्यसैले पुटिन कुनै पनि हालतमा कुर्स्क क्षेत्रबाट युक्रेनी सेनालाई धपाउन चाहन्छन्। त्यसैले आफ्ना धेरै सैनिक हताहती भइरहेको बेलामा उनले उत्तर कोरियाली सेना गुहारेका हुन्।
ढिलो गरी दिइएको लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्ने अनुमतिले रूससँगको युद्धको नतिजामै फरक नपारे पनि युक्रेनलाई कुर्स्क क्षेत्रको रूसी भूमि आफ्नो कब्जामा राखिरहन मद्दत पुग्नेछ।
शान्ति सम्झौताका लागि वार्तामा बस्दा आफ्नो भूमि युक्रेनी नियन्त्रणमा रहिरहे पुटिनले आफ्नो नियन्त्रणमा रहेका सबै युक्रेनी भूमिमाथि दाबी गर्न अप्ठ्यारो हुनेछ। रूसलाई विगतको जस्तो शक्तिशाली बनाउने उद्घोष गरेको पुटिनका लागि रूसी भूमि युक्रेनमा गाभिनु लज्जास्पद हुनेछ। त्यसैले थोरै रूसी भूमिको बदलामा आफ्नो धेरै भूमि फिर्ता पाउने युक्रेनले आकलन गरेको छ।
अमेरिकी राष्ट्रपति बाइडेनले मे महिनाको अन्त्यमा मात्रै अमेरिकी हतियार प्रयोग गरेर रूसी भूमिमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएका थिए।
अमेरिकाले हतियार दिँदा युक्रेनलाई आफ्नो हतियार रूसी भूमिभित्र प्रयोग नगर्ने सर्त राखेर दिने गर्थ्यो। सो अनुमति पाउनुअघि त्यसैअनुसार रूसले कब्जा गरेको आफ्नो भूमिभित्र मात्रै युक्रेनले रूसी सेनामाथि आक्रमण गर्न अमेरिकी हतियार प्रयोग गर्थ्यो। अमेरिकाले मे महिनामा अनुमति दिँदा पनि खार्किभ वरिपरि जम्मा भएर आक्रमण गरिरहेका र गर्न लागेका सेनामाथि मात्रै प्रयोग गर्ने सर्तमा दिएको थियो।
तर युक्रेनी सेनाले अगस्ट ६ मा रूससँगको उत्तर पूर्वी सीमा पार गरेर कुर्स्क क्षेत्रमा रूसी भूमि कब्जा गर्यो। अमेरिकालाई जानकारी समेत नदिई योजना बनाइएको यो आक्रमणका क्रममा युक्रेनले अमेरिका र युरोपका अरू देशमा बनेका हतियार समेत प्रयोग गरेको थियो।
युक्रेनलाई आधुनिक हतियार प्रयोग गर्न दिए रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने डर अमेरिकालाई थियो। अमेरिकाले त्यही कारण देखाउँदै हतियार प्रयोग गर्न अनुमति दिएको थिएन। तर रूसी भूमिसमेत कब्जा गर्दा पनि आणविक हतियार प्रयोग नगरेको भन्ने तर्क अमेरिकासमक्ष राखेर युक्रेनले लामो दुरीको हतियार रूसभित्र प्रयोग गर्न अनुमति मागिरहेको थियो।
अमेरिकाले भने मे महिनाको अन्त्यमा रूसभित्र प्रहार गर्ने अनुमति दिएलगत्तै रूसले आफ्ना लडाकू विमान र आधुनिक हतियारको भण्डारस्थल युक्रेनसँग भएका अमेरिकी हतियारको पहुँचभन्दा धेरै टाढा सारिसकेको औंल्याउँदै आएको थियो। अझ भित्र प्रहार गर्ने अनुमति दिए पनि खासै फरक नपर्ने उसले तर्क गर्दै आएको थियो।
तर युक्रेनले रूसी वायु सेनाको हवाई अड्डा, हतियार भण्डारसँगै सैनिक व्यारेक, तेल डिपो, प्रशोधन केन्द्र लगायत सामरिक महत्वका स्थानमा अमेरिकी हतियारले प्रहार गरे रूसलाई अप्ठ्यारो पर्ने जिकिर गर्दै आएको थियो।
अमेरिकाले भने अन्य स्थानमा अहिले झैं युक्रेनले आफूले बनाएका ड्रोन र मिसाइलले हमला गर्न सुझाएको थियो। तर युक्रेनले अमेरिकी हतियार प्रयोग गर्न पाए त्यस्ता हमला अझ प्रभावकारी हुने बताउँदै आएको थियो।
अहिले युक्रेनलाई रूसभित्र बिना रोकटोक अमेरिकी हतियारले प्रहार गर्न दिए रूससँग अमेरिकाको सम्बन्ध धेरै बिग्रिने अमेरिकी रक्षा मन्त्रालय र खुफिया संस्थाहरूले बताउँदै थिए। ढिलो-चाँडो रूस-युक्रेन युद्ध रोकिएपछि रूससँगको सम्बन्ध सुधार गर्न अमेरिकालाई मुस्किल हुने भन्दै उनीहरूले युक्रेनलाई त्यस्तो अनुमति दिन नहुने बताइरहेको मानिन्छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले लामो समयदेखि रूसको अझै भित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति मागिरहेका थिए। अमेरिका लगायत पश्चिमा राष्ट्रसामु उनले प्रस्तुत गरेको विजयको योजनामा पनि रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति मागिएको छ।
युक्रेनले रूसको कुर्स्क क्षेत्रमा सफलता हात पारेपछि प्रहार गर्ने ठाउँहरूको सूची नै बनाएर रूसको अझै भित्र अमेरिकी हतियार प्रयोग गर्न अमेरिकाको अनुमति मागेको थियो। यो सफलतापछि रूसको अझभित्र आक्रमण गर्न युक्रेनले अनुमति मागिरहेको थियो।
बेलायत लगायत अरू युरोपेली देशहरू पहिले देखि नै युक्रेनलाई त्यस्तो अनुमति दिने पक्षमा थिए। जर्मनी भने अमेरिका जस्तै त्यसको विपक्षमा थियो। अमेरिकाले आफ्नोमा बनेका पार्टपुर्जा प्रयोग भएका हतियार समेत रूसभित्र प्रयोग गर्न रोक लगाएकाले बेलायत, फ्रान्सलगायत अरू युरोपेली देशहरू अनुमति दिने पक्षमा भए पनि त्यहाँ बनेका हतियार समेत युक्रेनले प्रयोग गर्न पाएको छैन।
अमेरिकाले पहिल्यै दिइसकेको हाइमार्स हतियार समेत रूसको अझैभित्र प्रयोग गर्न समेत रोकिरहेका बाइडेनले उत्तर कोरिया पनि युद्धमा भाग लिन आएपछि भने अझ लामो दुरीका अट्याक एम्स हतियार नै प्रयोग गर्न अनुमति दिएका छन्।
हाललाई ती हतियार कुर्स्क क्षेत्रभित्र मात्रै प्रयोग गर्न अनुमति दिइए पनि पछि अन्यत्र पनि युक्रेनले प्रयोग गर्न पाउने अपेक्षा गरिएको छ।
साभार ः(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)