एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने

अन्तराष्ट्रिय मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन् । घरेलु टोली श्रीलंकालेसुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै फाइनलमा स्थान बनाएसँगै भारतसँगको भेट पक्का गरेको हो ।

जितका लागि २ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ४२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित ९१ रनको पारी खेले ।

अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई ८ रन चाहिँएको थियो । डेब्यु खेल खेलेका जमान खानले सुरुवाती चार बलमा दुई रनमात्रै दिएपछि अन्तिम दुई बलमा जितको लागि ६ रन चाहिँएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै जित पक्का गराए  ।

श्रीलंकाको जितमा हिरो बनेका चरिथ असलंका ४७ बलमा ३ चौका र १ छक्कासहित ४९ रनमा अविजित पारी खेले । ओपनर पाथुम निसांका २९ र कुशल परेरा १७ रनमा आउट भए भने  त्यसबाहेक सदिरा समाराविक्रमा ५१ बलमा ४ चौकासहित ४८, दासुन शानका २, धनन्जय डि सिल्भा ५ र दुनिथ वेलालागे डक आउट हुन पुगे  ।

पाकिस्तानका इख्तिखर अहमदले ८ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए  । शाहिन शाह अफ्रिदीले ९ ओभरमा ५२ रन खर्चेर २ विकेट , शादब खानको नाममा १ विकेट रहृयो । त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्कासहित ८६ रन बनाए  ।

छैटौं विकेटका लागि इख्तिखर अहमद र मोहम्मद रिजवानले ७८ बलमा १ सय ८ रनको महत्वपूर्ण शतकीय साझेदारी गरे  । इफ्तिखर अहमद ४० बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाए  । ओपनर अब्दुल्लाह शफिकले ६९ बलमा ३ चौका र २ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेले भने  कप्तान बाबर आजमले ३५ बलमा ३ चौकासहित २९ रन जोडन सफल भए ।

मोहम्मद नवाज १२ बलमा २ चौकासहित १२ रनमा महेश थिक्सेनाको बलमा बोल्ड भए  । श्रीलंकाका युवा तीव्र गतिका बलर मथिसा पाथिरानाले ८ ओभरमा ६५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए  ।

प्रमोद मदुशानले ७ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर २ विकेट लिए  । भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो । भारतले सुपर फोरको अन्तिम खेल आगामी शुक्रबार बंगलादेशसँग खेल्नेछ भने फाइनल आगामी आइतबार हुनेछ । श्रीलंका साविक विजेता टोलीसमेत हो ।

एजेन्सीहरू

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *