भैरहवाबाट कतार एयरवेजले पनि भोलिदेखि नियमित उडान गर्ने

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

 भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले पनि उडान गर्ने भएको छ । कतार एयरवेजको उडानसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या पाँच पुग्नेछ ।

भैरहवा विमानस्थलबाट कतार एयरवेजले भोलिदेखि दोहा कतार–भैरहवा–काठमाडौं–दोहा दैनिक एक उडान गर्ने नेपाल नागरिक उड्डन प्राधिकरणले जनाएकाे छ । दोहाबाट उडान भर्ने एयरवेजको विमान प्रत्येक दिन २:४५ बजे भैरहवामा अवतरण गरेर त्याहाँबाट ४:४५ बजे काठमाडौंहुँदै दोहा प्रस्थान गर्ने तालिका छ ।

कतार एयरवेजले काठमाडौंबाट दैनिक चार उडान गर्दै आएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मतसम्भार सुरु भएको कारण दुई उडान कटौती भएपछि एयरवेजले भैरहवालाई ट्रान्जिट बनाएर दैनिक एक उडान सुरु गर्ने भएको छ ।

एयरेवेजले मंसिर १५ गतेसम्म उक्त रुटमा दैनिक एक उडान गर्ने गरी प्राधिकरणमा जाडोयामको तालिका पेश गरेको थियो । जुन आइतबार प्राधिकरणले स्वीकृत गरेसँगै एयरवेजको भैरहवाबाट उडान गर्ने बाटो खुलेको हो । प्राधिकरणका अनुसार मंसिर १५ गतेसम्मका लागि पेश गरेको तालिका स्वीकृत भएकोले एयरवेजले १९ वटा उडान गर्ने अनुमति पाएको छ ।

एयरवेजले मंसिर १५ गतेसम्म मात्र अनुमति मागेपनि क्रमशः एयरवेजले नियमित उडान गर्ने प्राधिकरणको अपेक्षा छ । भैरहवा विमानस्थलबाट गत शुक्रबारदेखि थाइ एयर एशिया सातामा दुईवटा र शनिबारदेखि नेपाल एयरलाइन्सले सातामा चारवटा, फ्लाई दुबईले दैनिक एउटा र जजिरा एयरवेजले सातामा तीनवटा नियमित उडान थालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *