बोर्डरमा राजश्व कर्मचारी र सुरक्षाकर्मीहरुमाथि आक्रमण

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

रुपन्देहीमा तस्करहरुले राजश्व अनुसन्धानका कर्मचारी र सुरक्षा निकायका अधिकारीहरुमाथि आक्रमण गरेका छन् । राजस्व अनुसन्धान कार्यालय बुटवलको एउटा टोली भन्सार छलेर ल्याएको चिनी लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ मुजनामा राखेको खबर पाएपछि गए साँझ छापा हान्न गएको बुझिएको छ ।

तर उक्त टोलीमाथि तस्करहरुले ढुङ्गामुढा र हातपात गरेका छन् । ढुङामुढाबाट राजश्व, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गाडीमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दिपक मगराती घाइते भएको बताइन्छ । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरले जनआस्थासँगको कुराकानीमा  भने, ‘सूचनाका आधारमा छापा हानेर एकसय १२ बोरा अवैध चिनी बरामद गरेका छौं ।’ उक्त चिनी एउटा पक्की घरको सटरमा लुकाइएको थियो ।

सरकारी र सुरक्षा निकायको टोलीमाथि तस्करहरुको उक्साहटमा झण्डै अढाइसय स्थानीयले आक्रमण गरेका हुन् । आक्रमणको खबर पाएपछि सशस्त्र प्रहरी बल २७ नम्बर गण भैरहवा, रुपन्देही प्रमुख एसपी आनन्द थापाको कमान्डमा पुगेको टोलीले स्थितिलाई नियन्त्रणमा लिएको थियो ।‘समयमै सशस्त्रको टिम नपुगेको भए आज ठूलो दुर्घटना हुने थियो । तर अहिलेलाई दुर्घटना टरेको छ,’ एकजना अनुसन्धान अधिकारिले भने ।रुपन्देहीमा पछिल्लो समय तस्करी अत्यधिक मौलाएको छ । केही महिना पहिले भैरहवा भन्सार कार्यालयको टोलीमाथि मर्चवारमा तस्करहरुले आक्रमण गरेका थिए । दशैंअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले राति कपडा र चिनी पक्राउ गरेको थियो ।

रुपन्देहीको ५९ किलोमिटर सिमाना भारतसँग जोडिएको छ । खुल्ला सिमानाबाट प्रायः चिनी, कपडा, हार्डवेयरका सामान, चामल, कस्मेटिक आइटम, कुखुराको मासु व्यापक रुपमा तस्करी हुने गरेको छ । प्रहरी भने तस्करी नियन्त्रणमा चुकेको देखिन थालेको छ ।भारतीय सीमाना जोडिएका जिल्लामा तस्करी शून्य गराउन प्रहरीले नसक्ने होइन । तर, उक्त कार्य स्थानीय सुरक्षा अधिकारी र घुमुवा प्रहरीको निर्णयमा भरपर्ने बताइन्छ । चाडपर्वको समयमा सबै जना रमाइरहँदा तस्करहरु भने अवैध सामान ओसार पसारमा केन्द्रित भएका हुन् ।
सेमरपानी, बेलहिया अगाडिको कोटही माई मन्दिर, मर्चवारको बोर्डर क्षेत्र, दुरगौलिया, कक्रहवा नाकामा प्रहरीका स्थानीय कमान्डर र जिल्लाका घुमुवाको सेटिङमा दिउँसै पनि तस्करी हुने गरेको बताइन्छ । प्रहरीका कतिपय युनिटका प्रमुख तथा घुमुवाहरु तस्करसँगै होटलका खानपिनमा भेटिने गरेकाले तस्करीमा सहयोग पुगेको हो ।
साभार जनआस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *