सर्वोच्च अदालतको ३२ औँ प्रधान न्यायाधीशका रूपमा प्रकाशमान सिंह राउतले शपथ लिएको एक महिना पूरा भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले असोज २० गते राउतलाई प्रधान न्यायाधीशमा नियुक्त गर्दै शपथ गराएका थिए ।
सर्वोच्चले बुधबार संवैधानिकसहित ६ वटा इजलास तोकेको थियो । संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित पाँच न्यायाधीश सहभागी हुने भएकाले यस दिन कम इजलास गठन भएको हो ।
दुई न्यायाधीशको सुनुवाइ शुक्रबार हुने
सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस भएका दुई न्यायाधीशको सुनुवाइ आगामी शुक्रबार (कात्तिक २३) गते हुने भएको छ । संसदीय सुनुवाइ समितिले तिहार अघि नै सार्वजनिक सुनुवाइ गर्ने तय भए पनि समय अभावका कारण सरेको थियो । संसद् सचिवालयका अनुसार सर्वोच्चका लागि सिफारिस भएका दुई न्यायाधीशको उजुरीको अध्ययन सकिएकाले शुक्रबार अनुमोदन सम्बन्धी निर्णय हुनेछ । न्याय परिषदले असोज ११ गते उच्च अदालतका दुई मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वोच्चको स्थायी न्यायाधीशमा सिफारिस गरेको थियो ।
न्यायपरिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र तुलसीपुरका मुख्य न्यायाधीश पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो । एक महिनाभन्दा पनि लामो समय भइसक्दा पनि उनीहरूको सुनुवाइ हुन सकेको छैन । संसदीय सुनुवाइ समितिबाट शुक्रबार उनीहरूको नाम अनुमोदन भएमा उनीहरू आइतबार नियुक्त हुँदै शपथ लिने छन् । उनीहरूले शपथ लिएपछि सर्वोच्चमा अझै ४ न्यायाधीश पद रिक्त रहनेछ ।