डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ ।बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो ।
बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको थियो । तर बालिका त्यसपछि होसमा नआएकाे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएकाे छ । बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
स्थानीय बासिन्दा र मृतकका आफन्तले चिकित्सकले लापरबाही गरेर उपचार गरेको भन्दै अस्पताल तोडफोडमा उत्रिएपछि अस्पतालमा थप क्षति हुन नदिन तथा घटनाको अनुसन्धानका लागि प्रहरीले उपचारमा सम्लग्न चिकित्सकहरु डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले उपचारमा संलग्न चिकित्सकको मेडिकल चेकजाँच गरेकाे तर अल्कोहल सेवन गरेको नदेखिएनकाे र यस सम्वन्धमा थप अनुसन्धान भइरहेको जनाएकाे छ ।
आफन्तले भने चिकित्सकको लापबाहीका कारण बालिकाको मृत्यु भएको आरोप लगाउदै अस्पतालबाट शब उठाउन मानेका छैनन् । मृत्तकका बाबा रोजगारको सिलसिलामा भारत बस्दै आएका छन् ।