काठमाडौं । तिहार सकिएलगत्तै काठमाडौं उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।
छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिल बत्तीसहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ । उक्त क्षेत्रमा पाँच सय ६७ छठघाट अर्थात् पूजा कक्ष निर्माण गर्न लागिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएकाे छ । समितिले पाँच सय ६७ छठ घाट निर्माण गरेकाे र आज बिहानसम्म पाँच सय ५० वटा स्टल बुक भइसकेकाे जानकारी गरायाे ।
पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा हुने छठका लागि पशुपति क्षेत्र विकास कोषले रु तीन लाख उपलब्ध गराउने भएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले बताएकाे छ ।
यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ । कमलपोखरीमा २६० वटा टेन्ट बनाएको र छठका लागि काठमाडौंका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा रहेका नदीहरुको सरसफाइ गरिएको समेत बताइएकाे छ ।
छठ पर्वमा बाग्मती नदीमा धाप ड्यामको पानी छाडिने
पछिल्ला केही वर्षयता काठमाडौँमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ । यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ । उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ ।
एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा छाड्ने तयारी गरिहेको जनाएको छ । वाग्मती नदीमा पानीको सतह बढाउन र व्रर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो ।
समितिका अनुसार बुधबार साँझदेखि पानी नदीमा छाड्ने तयारी भइरहेको छ । धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि १४ घण्टा लाग्छ, तसर्थ छठको अघिल्लो दिनबाटै पानी छाड्ने तयारी गरेका गरिएकाे हाे ।
प्रतिसेकेण्ड चार सय लिटर
समितिले छठ पर्वको दुई दिनसम्म वाग्मती नदीमा प्रतिसेकेण्ड चार सय लिटर पानी छाड्ने तयारी गरिरहेको जनाएको छ । “ड्यामको पानी नदीमा छाड्दा व्रतालुको घुँडासम्म पानी आउने अनुमान गरेका छौँ, त्यसो हुँदा व्रतालुहरुलाई स्नान गर्न र पानी चढाउन सहज हुन्छ”, समितिले जानकारी गरायाे । यसकालागी मेलम्ची खानेपानी विकास समिति सग सहयाेग लिइने छ ।
मेलम्ची खानेपानी विकास समिति भन्छ : दश करोड लिटरसम्म छाड्न सक्छाै
मेलम्ची खानेपानी विकास समितिले आधिकारिक रुपमा पानी छाड्न आग्रह गरिएको खण्डमा दैनिक १० करोड लिटरसम्म मेलम्चीको पानी छठका अबसरमा उपलब्ध गराउन सकिने जानकारी दिएकाे छ ।