आज काग तिहार

मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौँ — कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ ।

 

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमाकात्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि मंगलबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ । यस दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी नामले पनि चिनिन्छ ।

कागसम्बन्धी नौ रोचक तथ्यहरू

काग बुद्धिमान चरा हो । १२० भन्दा बढी प्रकारका चराको प्रजातिमा काग सबैभन्दा चतुर हुन्छ । तर कागलाई धेरैले गलत रुपमा लिने गरेका छन् ।

काग चराको कर्भिड्स परिवारमा पर्छ । यो परिवारमा कागबाहेक पनि अन्य कयौं चरा छन् । यसमा पनि एक औंसको पुड्के जे देखि मेक्सिकोमा मात्रै पाइने सानो चरा र ३ पाउन्ड तौल भएको साधारण कौआसम्म पर्दछ । समग्रमा कोर्भिड निकै चलाख हुन्छन् ।

आकारको अनुपातमा कोर्भिडमा मष्तिस्कको आकार हुन्छ । खागरी, काग कौआ यसमै पर्दछन् । मस्तिष्क र शरीरको आकारको अनुपात यसमा चराको होइन बाँदरको जत्रो हुन्छ । करेन्ट बायोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार कागको मस्तिष्क तुलनात्मक रुपमा चिम्पान्जीको जत्रै हुन्छ ।

लोककथामा काग र कौआलाई मान्छेले शताब्दीऔंदेखि चोर, बद्मास, भगवानको सल्लाहकार वा देवता भनेर पनि चिनेका छन् । तर पनि कहिलेकाँही यी चरालाई हामी डरलाग्दो, समस्या उत्पन्न गराउने वा पूर्णतः दूष्टको बिल्ला भिराइदिन्छौं ।

दिमागको सारा शक्ति लगाएर कोर्भिडहरूले के गर्न सक्छन् भन्नेबारे भएको अनुसन्धानका कारण हालैका वर्षहरूमा यो चराको बुद्धिमताबारे मान्छेको धारणा फेरिन थालेको छ । आजको यस लेखमा हामीहरू कागबारे केही रोचक तथ्यहरू तपाईलाई बताउनेछौं ।

१. खाना हत्याउन चतुर तरिका अपनाउँछन्

कागहरु अवसरको ठ्याक्कै प्रयोग गर्न सक्ने र सृजनशीलल हुन्छ । खासगरी खानेकुराको नयाँ स्रोत पत्ता  लगाउन वा आफ्नो जीवन सहज बनाउन खाने नयाँ नीति अपनाउने मामिलामा उनीहरु सिपालु हुन्छन् । अमेरिकी कागले आफ्नो आहारको लागि आफैं माछा समात्छन् । केहीले त माछालाई आफ्नो नजिक आकर्षित गर्न पाउरोटी वा अन्य खानेकुरा चारोको रुपमा पनि हाल्छन् ।

कागले अरु जनावरहरूको खाना पनि चोर्छन् । कहिलेकाँही यसले अरु चरालाई गुँडसम्म पछ्याएर वा जनावरलाई छक्याएर पनि खाना चोर्छ । जापानमा कारले कुल्चिएर फुटोस् भनेर कागले ओखरलाई सडकमा राखिदिएको भिडियो आएको थियो ।

२. आफ्नो लागि औजार पनि बनाउँछन्

चिम्पाञ्जीले धमिरा किरालाई समात्न काठको छेस्को प्रयोग गरेको भनेर सन् १९६० को दशकको शुरुमा  प्रिमाटोलोजिष्ट जेन गूडअलले भन्दा संसार चकित भएको थियो । औजार प्रयोग गर्ने जीव मान्छे मात्रै हो भन्ने त्यसअघिको धारणा उनले भत्काएकी थिइन् । औजार प्रयोग गर्न निश्चित खालको संज्ञानात्मक परिष्कृतता चाहिन्छ । बाँदरका प्रजाति मात्रै नभएर जंगलमा बस्ने अन्य कयौं जीवनले पनि औजार प्रयोग गर्छन् भन्ने हामीलाई थाहा छ । गैर–बाँदर प्रजातिमा औजारको प्रयोगबारे सबैभन्दा धेरै अध्ययन भएको जीव/चरा कोर्भिड अर्थात काग नै हुन् ।

कयौं कोर्भिडले औजार प्रयोग गर्छन् तर नयाँ कालेडोनियन काग अलि बढी उन्नत छन् । चिम्पाञ्जीजस्तै यसले पनि किरालाई समात्न छेस्का प्रयोग गर्छन् । यसले केही कामका लागि प्राकृतिक रुपमा पाइने छेस्का प्रयोग गर्छन् । तर नयाँ कालेडोनियन कागले भने आफ्ना लागि औजार नै बनाउँछन् । यो भनेको विल्कुल नयाँ कुरा हो । छेस्का, पात वा काडालाई तिखारेर यिनीहरूले आफ्नो लागि औजार बनाउँछन् ।

केही प्रयोगमा यी कागहरूले बल्छी बनाउन लचिलो वस्तुलाई दोबारेर प्रयोग पनि गरेको पाइएको छ । केही अनुसन्धानमा कागले सानो छेस्काले तानेर ठूलो छेस्का हात पारेको देखिएको छ । कामै नलाग्ने दुई वा सोभन्दा बढी वस्तुबाट नयाँ हतियार बनाएको पनि पाइएको छ ।

३. मान्छेको बच्चाकै हाराहारीमा समाधान गर्न सक्छन् गुत्थी

हामीले सानैदेखि कागसम्बन्धी एउटा कथा पढ्दै अनि सुन्दै आएका छौं । त्यो के भने, तिर्खाएको कागले एउटा माटोको गाग्री देख्छ । ग्रागीको पिउँमा थोरै पानी हुन्छ । कागलाई यति धेरै तिर्खा लागेको हुन्छ कि त्यो पानी कसरी खाने भन्ने ध्याउन्नमा उसले आसपासबाट स–साना ढुंगा, गिट्टी चुच्चोमा च्यापेर ल्याउँदै गाग्रीमा खसाल्न थाल्छ । यसै क्रममा अन्ततः ग्रागीको पिउँको पानी उसले पिउन सक्ने गरी माथि आउँछ । कागले पानी पिएर जान्छ ।

कागले यस्तो गर्न सक्छ भनेर लोककथाले मात्रै होइन अनुसन्धानले पनि पूष्टि गरेको छ । रोचक कुरा चाँहि के छ भने कागमा मान्छेको ५ देखि ७ वर्षको बच्चामा जत्तिकै बुद्धि हुन्छ भनेर अध्ययनले देखाएको छ । ‘इन्साइड द एनिमल माइन्ड’ भन्ने बीबीसीको सिरिजमा कागले आठ चरणको पहेली समाधान गरेको थियो । आफ्नो औजार कसरी प्रयोग गर्ने भन्ने कुरा पनि कागले योजना बनाउन सक्छ भनेर करेन्ट जर्नलमा छापिएको एक अध्ययनले भनेको छ ।

४. मृतक चराको अन्त्येष्टि गर्छन्

कुनै कागको मृत्यु भयो भने कागहरूले अन्त्येष्ठीको आयोजना गर्छन् । कहिलेकाँही एक्लै एउटा काग त कहिले समूहले यस्तो र्गछन् । केही केसमा खसेको चरालाई काग कयौं दिनसम्म नियालेर हेरिबस्छन् । उनीहरूले शोक मनाएका हुन् त ?

वाशिङ्गटन विश्वविद्यालयमा कोर्भिड विज्ञ काएली स्वीफ्टले यसको जवाफ हुन सक्छ भनेर भनेकी छिन् । तर कुनै पनि जनावर वा चराको मस्तिष्कमा भावनात्मक रुपमा केह भइरहेको छ भनेर जान्ने कुनै तरिका नभएकोले कागहरू भावनात्मक रुपमा बुद्धिमान हुन्छन् भन्नेमा केही शंका हुन सक्न अनि यसको परीक्षण पनि समस्याकारी हुन सक्ने उनी बताउँछिन् ।

एकलास जंगलमा कोही मृतकको शव देख्यो वा भेट्यो भने अबको शिकार मै त हुने होइन भनेर मान्छे पनि त सर्तक हुन्छ ।  कागले पनि खतराको सम्भावित स्रोतलाई नियालेर भविष्यमा आफू कसरी सुरक्षित हुन सक्छु भनेर त्यस्तै गरेका हुन सक्ने स्वीफ्ट बताउँछिन् ।

५. काग पनि कुरा काट्छन्

केही खालका कोर्भिडले मान्छेको अनुहार चिन्छन् । विगतमा आफ्नो गुँडको नजिक आएका अनुसन्धातालाई चिनेर कौआ कराउँछ । उनीहरूले जे जस्तो पहिरन लगाएको भएपनि कौआले चिन्ने गरेको अनुसन्धानकर्ता बताउँछन् । कागका यस्ता केही गुण स्वीफ्ट र उनको सहकर्मीले मान्छेको अनुहारप्रति चराले देखाउने प्रतिक्रियाको अध्ययन वा परीक्षणको क्रममा थाहा पाएका थिए ।

अनुसन्धानका लागि जालमा पारेको वा समातेको कौआले खासगरी यस्तो खालको द्वेष राख्ने गरेको थाहा पाएपछि वाशिङ्गटन विश्वविद्यालयमा वन्यजन्तु विज्ञानका प्राध्यापक जोन मार्जलफलेको समूहले यसबारे थप परीक्षण गरेका थिए । अध्ययनमा अनुसन्धानकर्ताहरूले जंगली मान्छेको मुखौटा लगाएका थिए । तर पनि कागले आफ्नो शत्रुलाई चिने । पछिल्लो परीक्षणमा अनुसन्धानकर्ताहरूले मास्क लगाएर मृत काग समातेका थिए । भविष्यमा कागले त्यस्तै खालको मास्क लगाउनेको खेदो गरेको पाइयो । रोचक कुरा चाँहि के थियो भने कागले पूरै शरीरलाई भन्दा पनि अनुहारलाई मात्रै ध्यान दिएको मार्जलफले भनेका छन् ।

अन्य कयौं जवानरले पनि मान्छेको अनुहार चिन्न सक्छन् । उनीहरूको मस्तिष्कमा लामो समयसम्म स्मृति बस्ने अनि आफूहरूमाझ सूचना साटासाट गर्ने भएकोले कागमा यो खुबी स्पष्टै छुट्टिने खालको थियो । वर्षमा एक दुई पटक केही घन्टाका लागि मात्रै मास्क लगाएको मान्छे देखेपनि कागले त्यो अनुहार याद गरेर राखेको थियो । केही वर्षभित्र जंगली मान्छेको मास्क लगाएको मान्छे नजिक पर्दा कराउने चिच्याउने वा गाली गर्ने कागको संख्या बढे ।

सात वर्षमा यो संख्या दोब्बर नै भयो । यसरी कराउने अधिकांश कागलाई त बाँधिएको पनि थिएनन् । न त उनीहरूले मास्क लगाएको मान्छेले उनीहरूलाई नराम्रो लाग्ने केही काम नै गरेका थिए । यसको अर्थ एउटा कागले आफूले पाएको जानकारी परिवारका सदस्य वा अन्य साथी कागलाई भन्ने गरेका थिए । जंगली मान्छेको मास्क लगाउनेले समातेका अधिकांश काग मरिसकेका सन् २०१६ मा एउटा पत्रिकामा क्याट म्याकगोवानले लेखेका थिए ।

६. आफ्नै भाषा हुन्छ कागको

कागको कौं कौँ आवाजसँग त हामी सबै परिचित छौं । तर यिनीहरूको बोलीचालीको आफ्नै भाषा पनि हुन्छ । के तपाईलाई यो कुरा थाहा छ ? ठाउँ अनुसार मान्छेको भिन्न भाषा भए जस्तै कागको पनि फरक फरक भाषा हुन्छ । कम्पनी अफ क्रो एन्ड राभेन्सका लेखक ओर्निथोलोजिष्ट जोन एम. मर्जलफ र टोनी एङ्गेलका अनुसार क्षेत्रअनुसार कागको भाषा पनि फरक हुन्छ । उपत्यकै पिच्छे कागको बोलीचाली फरक हुन सक्छ ।

कागले आफ्नो झुन्ड फेर्न सक्ला ? नयाँ समूहमा समायोजन हुन नयाँ आवाज सिक्न सक्यो भने यसले सो समूहमा मिसिन सक्छ । काग नयाँ झुन्डमा मिसियो भने समूहमा प्रभावशाली सदस्यको नक्कल गरेर कागले भाषा सिक्ने मर्जलफ र एङ्गेलले पुस्तकमा लेखेका छन् ।

७. आजीवन एउटैको भएर बस्छन् काग  

काग सामाजिक चरा हो । यो चरा हामीमध्ये कयौंले सोचेको भन्दा बढी परिवारमुखी हुन्छन् । एक पटक कुनै कागिनीको संसर्गमा आएको काग आजिवन उसकै भएर बस्छन् । तर यिनीहरूको पारिवारिक जीवन अलि बढी जटिल हुन सक्छ । काग मोनोगामी भएको स्वीफ्ट लेख्छिन् । सामाजिक रुपमा काग मोनोगामी भएपनि जीनले भने यो बहुगामी वा असभ्य भएको देखाउँछ । केही कागले दोहोर जीवन पनि बाँच्ने कोर्नल ल्याब अफ ओर्निथोलोजीले बताएको छ । परिवारका बीचमा समय छुट्टाएर कागले दुई वटा जीवन जिउन सक्छ ।

८. घरमा सहयोगीको रुपमा काम गर्न जवान काग घरमै बस्छन्

अमेरिकी कागहरूल् बसन्तको शुरुमै छेस्का, खास, प्वाँख आदि लिएर गुड बनाउन थाल्छन् । कसैले आफूलाई हेरिरहेको छ वा नियालिरहेको छ भन्ने लाग्यो भने तिनीहरूले नक्कली गुँड पनि बनाउँछन् ।  साना कागहरू शुरुका केही महिना अभिभावकमा निर्भर रहन्छन् । तर बाउआमाको गुँडबाट अन्यत्र सरेपनि लामो समयसम्म यिनीहरू परिवारको नजिकमा बस्छन् ।

विस्तारै यिनीहरूले अभिभावकसँग कम समय बिताउँछन् अनि ठूलो झुन्डमा बढी समय बिताउन थाल्छन् । मौसमको परिवर्तनसँग आउने चुनौतीको सामना गर्छन् । यिनीहरू आफ्नो पार्टनर भेट्नु भन्दा अगावै उड्छन् वा आफ्नो छुट्टै ठाउँ बनाउँछन् । कहिलेकाँही घरमै बसेर सहायकको रुपमा बाआमाका नयाँ साना चल्लालाई सघाउने काम गर्ने स्वीफ्ट बताउँछिन् ।

केही वर्षसम्म यिनीहरूले बाउआमालाई साना बच्चा हुर्काउन सघाउँने कर्नेल ल्याबको भनाइ छ । कागको एउटा परिवारमा १५ जनासम्म हुन सक्छ । यसमा पाँच फर फरक वर्षका बच्चाहरू पनि हुन सक्छन् ।  यस्तो किन हुन्छ भन्ने चाँहि स्पष्ट नभएको स्वस्फ्ट बताउँछिन् ।

९. काग बाठा हुन्छन्, तर अपराजेय हुन्नन्

मान्छेहरू कागलाई बदनाम गर्छन् । यसका अबाञ्छित व्यवहारमा बढी ध्यान दिएर यसका गुणलाई वेवास्ता गर्छन् । कागहरू निकै बाठा हुन्छन् । तर यसो भन्दैमा यी चरा मान्छेबाट सुरक्षित छन् भन्ने चाँहि होइन ।

हवाईएन काग चतुर कोर्भिड हो । तर सन् २००२ मा रोग, हिंस्रक जनावरको शिकार, बास गुम्दै गएको स्थिति र मानव अतिक्रमणका कारण यो विलुप्त भएको घोषणा गरिएको थियो । तर वैज्ञानिकहरूले प्रजनन कार्यक्रमलाई शुरु गर्नपर्याप्त हुने चरालाई बताए । अनि हराउनै लागेको यो प्रजातिको संख्या बढाए ।

काग कहिलेकाँही किसानको खेतबारी र बगैँचामा हमला पनि गर्छ । तर किटाणु वा किरालाई खाएर वा बिउ छरेर वातावरणमा पुर्याउने लाभले यिनीहरूले गर्ने क्षतिको भर्पाई गरिदिन्छ । हरेक जीवको बाँच्ने नैसर्गिक अधिकार छ । हामीमाग काग जस्तो बाठो चरा हुनु हाम्रो सौभाग्यको कुरा हो ।

यसले हामीलाई हाम्रो आफ्नै बौद्धिकताबारे थप सिक्न मद्दत गर्छ अनि हाम्रो आसपासको जीवजन्तुसँग हामी कत्तिको समान छौं भन्नेबारे हामीलाई स्मरण गराउँछ ।

 साभार : रासस, राताेपाटी  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *