प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
“शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले गरेको यो दमन र गिरफ्तारीविरुद्ध घोर भर्त्सना गर्दछौँ,” उनले भनेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएकाहरूमा रास्वपाका सांसद अशोककुमार चौधरी, उक्त पार्टीका काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्रकुमार श्रेष्ठलगायत नेता–कार्यकर्ता रहेका बुर्लाकोटीले बताए ।
पार्टी सभापति रवि लामिछाने सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेपछि रास्वपा आन्दोलित भएको हो । रास्वपाले भने यसलाई राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन भनेको छ । लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई हावादारी पार्टीको संज्ञा दिए । रास्वपासँग देशलाई अघि बढाउने कुनै योजना नभएको उनले जिकिर गरे । “अर्को कुनै हावादारी आएर कुनै योजना पनि छैन । उसको फेद के हो, टुप्पो के हो – केही पनि थाहा छैन,” उनले भने, “कुनै अनुभव पनि छैन । भोलि उसले जित्यो भने के गर्छ त्यो पनि थाहा छैन । त्यसै विकल्प भनेर हावामा भोट दिएर फेरि बाँकी समय बर्बाद गर्ने ?”आफ्नो पार्टी मात्र सुशासनको पक्षधर रहेको भन्दै उनले जनताले उपनिर्वाचनमा साथ दिने विश्वास व्यक्त गरे । उनले भने, “यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ! राप्रपालाई भेट नदिएर त्यही कांग्रेसलाई दिने ? त्यही एमालेलाई दिने ? त्यही माओवादीलाई भोट दिने ?”
आफ्नो पार्टीले जितेका स्थानीय तहले नमुनायोग्य काम गरेको भन्दै उनले उपनिर्वाचनमा जनताले साथ दिने बताए । “देखेको, जानेको पार्टीको हिसाबले पनि म फेरि पनि भन्छु– नेपालको राजनीतिमा राप्रपाबाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ? भन्नुस्,” उनले भने ।