नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।दशरथ रङ्गशालामा आइतबार राति भएको तनावपूर्ण सेमिफाइनल खेलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको हो ।
टाइब्रेकरमा नेपालका लागि सावित्रा भण्डारी (साम्बा), गिता राना, सविता रानामगर र अमिशा कार्कीले गोल गरेका थिए । भारतकी मनिषा र पुरुषोत्तम शिरोभ्करले गोल १।१ गरे । कप्तान आशालता देवीको पहिलो प्रहार पोलमा लागेर फर्किएको थियो । रन्जना चानुको प्रहारलाई भने नेपालकी गोलरक्षक अन्जना रानामगरले विफल पारेकी थिइन ।
यसअघि निर्धारित समयको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ५१ औँ मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो ।नेपालकी प्रभावशाली स्ट्राइकर रेखा पौडेलले रन्जना चानुमाथि फल गरेपछि भुटानी रेफ्री चोकी ओमले रेखालाई दोहोरो पहेँलो (रातो) कार्ड देखाएपछि रेफ्रीको निर्णय प्रति असन्तुष्ट बनेका नेपाली समर्थकले नाराबाजी गर्दै मैदानमा बोतल फालेका थिए । जसको कारण खेल १३ मिनेट रोकिएर पुनः सुचारु भएकाे थियो ।
त्यसपछि लगत्यै भारतकी संगीता बासफोरले डिबक्स छेउबाट उत्कृष्ट गोल गरेकि थिइन । भारतका खेलाडी र अफिसियल संगीताको गोलमा खुसी मनाउन लाख्दा रेफ्रीले खेल सुचारु गरे लगत्तै नेपालकी प्रिति राईले गोल गर्न सफल भएपनि प्रितिले खाली पोस्टमा गरेको गोललाई विपक्षी खेलाडी हाफ मैदानमा नरहेको भन्दै रेफ्री चोकीले फोर्थ अफिसियल र सहायक रेफ्रीको निर्देशनमा गोल नदिएपछि रङ्गशाला पुनः तनावपूर्ण बनेको थियो । नेपाली खेलाडी गोल नदिएका कारण खेल्न मानेनन् । अफिसियलले पनि तत्काल खेलाउन सकेनन् ।
रेफ्रीको गलत निर्णयपछि १५ हजार दर्शकले रेफ्रीविरुद्ध नाराबाजी गरिरहेका थिए । दर्शकको आक्रोस नियन्त्रण गर्न सुरक्षा कर्मीलाई समेत हम्मेहम्मे परेको थियो ।करिव एक घण्टा तनावपछि खेल पुन: सञ्चालन भएको थियो । खेल सञ्चालन भएको पहिलो मिनेटमै सावित्राले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउन सफल भएकि थिइन ।
त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा नेपाल भाग्यमानी बन्यो । फाइनलमा नेपालले बुधबार साविक विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।यसअघि आइतबार नै भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । अघिल्लो संस्करणको फाइनलमा बङ्गलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो ।