“इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भयो” -इजराइल

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

इजराइलले इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको घोषणा गरेको छ।शनिबार राजधानी तेहरान आसपासका इरानी सैन्य अड्डाहरूलाई लक्षित गरी हवाइ हमला गरेपछि इजराइलले इरानमाथिको जबाफी कारबाही तत्कालका लागि रोकिएको घोषणा गरेको हो।

‘जबाफी कारबाहीसँगै हाम्रो मिसन पनि पूरा भएको छ । आक्रमणमा प्रयोग गरिएका विमानहरू सुरक्षित घर फर्किएका छन्,’ इजराइली डिफेन्स फोर्सले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै अमेरिकी अखबार सिएनएनले उल्लेख गरेको छ।इजराइली सैनिकका प्रवक्ता ड्यानियल हगारीले इजराइललाई धम्की दिने र क्षेत्रीय तनाव बढाउन खोज्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

‘हामीसँग निर्णायक रूपमा काम गर्ने सक्ने क्षमता र संकल्प दुवै छ भन्ने आज हामीले देखाएका छौं। इजराइल र इजराइली नागरिकहरूको रक्षाका निम्ति हामी आक्रमक र रक्षात्मक दुवै अवस्थामा तयार छौं,’ उनले भिडिओ वक्तव्यमार्फत भनेका छन्।

यद्यपि इरानले पुन आक्रमणको प्रयास गरे इजराइल त्यसको जबाफ दिन पनि तयार रहेको इजराइली अधिकारीहरूले बताएका छन्। तत्कालका लागि भने कारबाही समाप्त भएको उनीहरूले भनेका छन्।इरानले  इजराइलले गरेको अधिकांश आक्रमण आफ्नो प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएको बताएको छ।

इरानको सरकारी समाचार संस्थाले तेहरान, खुजेस्तान र इलामलगायतका स्थानमा सामान्य क्षति भएको बताएको छ।’इजराइली आक्रमणलाई प्रतिरक्षा प्रणालीहरूले सफलतापूर्वक रोक्न र प्रत्याक्रमण गर्न सफल भएका छौं,’ आरएनएको समाचारलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।

आक्रमणबाट कति क्षति भयो भन्ने विषय भने दुवै पक्षबाट सार्वजनिक भएको छैन।आजको आक्रमणलाई इजराइलले अक्टोबर १ मा इरानले गरेको आक्रमणको जबाफ भनेको छ।इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख कमाण्डर र कमाण्डरहरूलाई इजराइलले मारेको,गाजामा भएको कारबाही र हमासका कमाण्डरहरू मारिएको घटनापछि इरानले इजराइलमाथि आक्रमण गरेको थियो।

अक्टोबर १ मा इरानले १८० वटाभन्दा बढी मिसाइलले इजराइलमाथि आक्रमण गरेको थियो। त्यसलाई इरानले इजराइलमाथि अहिलेसम्म गरेको ठूलोमध्येको हमला भनिएको छ। सो आक्रमणपछि इजराइलले त्यसको जवाफ दिने र इरानले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दिँदै आएका थिए।

त्यसपछि मध्यपूर्वको लडाइँमा इजराइललाई सहयोग गर्दै आएको अमेरिकाले इरानमा आक्रमण गर्दा सैनिक अड्डाहरूमा मात्र निशाना बनाउन इजराइललाई सुझाव दिएको थियो।सोहीअनुसार शनिबार बिहान इजराइलले इरानी सैन्य अड्डाहरूलाई मात्र लक्षित गरेर आक्रमण गरेको थियो।

इरानले अक्टोबर १ को आक्रमणपछि इजराइल प्रत्याक्रमणमा उत्रिए त्यसको जबाफ दिन तयार रहेको बताउँदै आएको थियो। इजराइलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वको द्वन्द्व थप उत्कर्षमा पुगेको छ।इजराइल इरानसँगै गजामा हमास र लेबननमा  हिजबुल्लाहसँग लडाइँमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *