नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरू भएको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ललितपुरमा सम्मेलन उद्घाटन गरेकी हुन्।सम्मेलनमा १५ देशका वैज्ञानिकहरू सहभागी छन्। नेपाल मेटेरियल्स साइन्स सोसाइटी को आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सहआयोजनामा सम्मेलन हुन लागेकाे हो।
सम्मेलनमा विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल हुने सम्मेलनको समुद्घाटन गर्दै शिक्षा मन्त्री भट्टराईले विज्ञानलाई नेपाली समाजसँग बुझाउने गरी काम गर्नुपर्ने बताइन्।’आज विश्व एआईमा प्रतिस्पर्धा गरिरहेको छ र हामी उनीहरूले उत्पादन गरेका कुराहरूलाई उपभोग मात्रै गरिरहने हो भने नेपाली समाज अघि बढ्न सक्दैन, विज्ञानलाई जीवनसँग जोड्ने गरी काम गर्न आवश्यक छ,’ उनले भनिन्।
विज्ञानलाई व्यवहारमा लागू गर्ने गरी काम गर्न आवश्यक रहेको बताउदै ‘यस्ता सम्मेलनबाट निकालेका निष्कर्ष र प्रतिबद्धताहरूलाई नेपाली समुदाय र अन्तर्रष्ट्रियस्तरसम्म कसरी पुर्याउन सकिन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ, विज्ञानलाई हाम्रो समाजसँग जोड्न आवश्यक छ,’ उनले भनिन्।
चीनबाट आएका प्रा. बिङ डिङले नेपालको शैक्षिक संस्थाको प्रशंसा गर्दै ‘ग्राउन्डब्रेकिङ रिसर्च’का लागि बाटो बनाउन सक्ने बताए।मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवप्रसाद गौतमले सम्मेलनलाई ज्ञान आदानप्रदानका लागि महत्वपूर्ण मञ्चका रूपमा उपयोग गरिने बताए।
सहायक प्राध्यापक टंक मुखियाले सम्मेलनमा विज्ञान प्रविधिको उपयोग र यसले सिर्जना गरेका चुनौतीहरूलाई समाधानका उपायबारे छलफल गरिने बताएका छन्।सम्मेलनको अध्यक्षता गरिरहेका प्रा. डा हेमराज पन्तले जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्य जस्ता समस्या समाधानका लागि सामूहिक प्रयासको महत्त्वलाई जोड दिएका छन्।
तीन दिनसम्म चल्ने सम्मेलनमा विज्ञानले देखाएका चुनौतीहरूको दिगो समाधान खोज्ने प्रतिबद्धताको लागि पनि उनले आह्वान गरेका छन्।सम्मेलनमा चीन, भारत, मलेसिया, इन्डोनेसिया, जापान र अमेरिका लगायतका देशहरूका वैज्ञानिक तथा अनुसन्धानकर्ता सहभागी छन्।