गुल्मीमा राष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता आज शुक्रबारदेखि सुरु हुने भएको छ । तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा पहिलो पटक यस जिल्लामा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक एवम् स्क्राबल क्लब गुल्मीका संयोजक डोरविक्रम श्रीसले शुक्रबारदेखि हुने दशौं राष्ट्रिय स्क्राबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । स्क्राबलले शिक्षक र विद्यार्थीको चिन्तन क्षमता अभिबृद्धि गराउन मद्दत पुग्ने उनले बिश्वास व्यत्त गरे ।
कात्तिक ९ र १० गते दुई दिनसम्म चल्ने दशौं राष्ट्रिय स्क्राबल प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुरलगायतका विभिन्न जिल्लाबाट निर्धारित कोटाका आधारमा करिब एक सयभन्दा बढी विद्यार्थी प्रतियोगी सहभागी हुने स्क्राबल क्लबका गुल्मी जिल्ला संयोजक श्रीसले जानकारी दिएनु। पहिलो दिनको खेल बिहान ७ः४५ बजेदेखि साँझ ७ः०० बजेसम्म ११ वटा खेल खेलाइने तालिका रहेको छ ।
प्रतियोगिताका माध्यमबाट विद्यार्थीमा शब्दभण्डार बढ्ने, नयाँ ठाउँको परिवेश चिन्ने र अवलोकन भ्रमण गर्ने अवसर हुने, संस्कृतिक, भाषा, रहनसहनका विषयमा नजिकबाट जान्ने अवसर प्रदान हुने बताइएको छ । सिकाइले मात्र सर्वाङ्गीण विकास सम्भव नहुने भएकाले स्वयंसेवी भावनाका साथ स्क्राबललाई अगाडी बढाइएको स्क्राबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले बताए ।
नेपालको ७७ जिल्लामध्ये ४० भन्दा बढी जिल्लामा यो खेल परिचित भइसकेको छ । प्रतियोगितामा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, आठ हजार, छ हजार र चार हजार रुपियाँ नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट लेडिले दुई हजार रुपियाँ नगद पुरस्कार पाउने छन् ।